बजेट अभावले सोचेजस्तो काम गर्न सकिएन : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण मन्त्रालयले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन्।

आइतबार महिला तथा सामाजिक मामिला समितिमा आर्थिक वर्ष २०८९/०८० को मन्त्रालयको कार्यविवरण प्रस्तुत गरेका उनले बजेट अभाव, अन्तरमन्त्रालयबीचको कार्यगत अस्पष्टता र समन्वयको अभावजस्ता कारणले मन्त्रालयले आफैं काम गर्न सक्ने अवस्था नरहेको बताए।

मन्त्रालयमा न्यून बजेट विनियोजनका कारण महिला, बालबालिका र अन्य क्षेत्रमा चाहेजस्तो योजना र कार्यक्रम गर्न नसकिएको उनको भनाइ छ।

बालसुधारका लागि बालसुधार गृह निर्माण र व्यवस्थापन गर्न चाहेको तर बजेटको अभावका कारण नसकेको उल्लेख गर्दै मन्त्री आचार्यले भने, ‘बजेट अत्यन्त न्यून भएको कारणले हामीले सोचेजस्तो विभिन्न ठाउँमा कार्यक्रमहरू, योजनाहरू सम्पन्न गर्न सक्ने अवस्था पनि छ्रैन। खासगरी बालसुधार गृहका कुराहरू गर्दा बालसुधार गृह जो देशभरि ८ वटा छन्। ४ वटा मन्त्रालयको व्यवस्थापनमा सञ्चालनमा छ र ४ वटालाई युसेफ भन्ने संस्थाले त्यसको व्यवस्थापन हेरेको छ।’

त्यस्तै उनले क्षमताभन्दा धेरै बालबालिकाहरू एउटै सुधार गृहमा राख्नुपर्ने बाध्यता रहेको भन्दै त्यसको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

‘खासगरी त्यो बालसुधार गृहको क्षमताभन्दा दुई गुणाभन्दा बढी त्यहाँ बच्चाहरूको संख्या छ। खासगरी सुधार गृहमा १८ वर्षसम्मका बच्चाहरू राख्नुपर्ने र उनीहरूको मुद्दा समयमै फैसला नहुँदाखेरि २७ वर्षकालाई पनि त्यसैमा राख्नुपर्ने अवस्था छ। त्यसले गर्दाखेरि त्यहाँको वातावरण नराम्रो पक्कै भएको छ।’

मन्त्री आचार्यले बालसुधार गृह निर्माणका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा उक्त कार्य रोकिएको गुनासो गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *