उपराष्ट्रपतिले शिलान्यास गरेको पुल नै गायब!

यो बाराको एउटा पुल हराएको कथा हो। उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत वर्ष असोज ९ गते शिलान्यास गरेको पुल सरकारी फाइलहरूमा कतै हराएको छ। मंसिरको चुनावमा जनताको आँखामा छारो हालेर भोट बटुल्नका लागि उपराष्ट्रपतिबाट शिलान्यास गराइएको पुल सरकारी याेजनाबाटै हराएकाे हाे। 

अहिले वर्षाको समय, देशका धेरै स्थानहरूमा अहिले नागरिकहरूले खोला-नदीहरूमा पुल नहुदाँ निकै सास्ती भोगिरहेका छन्। कतिपय स्थानहरूमा पुल बगेका छन्, कतिपय स्थानमा वर्षौंखि निर्माण अधुरै छन् भने कतिपय स्थानमा पुल निर्माण नै हुन सकेका छैनन्।

यस्तै समस्या बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर, रघुनाथपुरमा पनि छ। वर्षौंदेखि यसै गाउँ जोड्ने पसाह नदीमा पुल निर्माण नहुँदा यहाँका नागरिकहरूले सास्ती भोग्दै आएका छन्। वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्ने पसाहा नदीमा पुल नबन्दा नागरिकहरूले सास्ती भोगिरहेका छन्।

नदीमा पुल नबन्दा यहाँका नागरिकहरू आफ्नै पालिकाको केन्द्र मात्र होइन वडा कार्यालयको सेवाबाट वञ्चित हुन बाध्य भएका छन्। पुल नहुदाँ वर्षातको समय नदीमा बाढी आएपछि रामनगर र रघुनाथपुरका झण्डै ६ सय घरधुरीको उपमहानगरपालिकाको केन्द्र जीतपुरसँग र स्वयं वडा कार्यालयसँग समेत सम्बन्धविच्छेद हुने स्थानीयहरू बताउँछन्। नदीमा बाढी आएपछि वर्षातको समयमा हलुका सवारी साधनहरूसमेत आवतजावतमा निकै समस्या हुने स्थानीयहरू बताउँछन्।

खोलामा बाढी आएपछि वडाको सामान्य सिफारिस लिन पनि पूर्व-पश्चिम राजमार्ग हुँदै झण्डै २५ किलोमिटरभन्दा बढीको यात्रा गरेर जानुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी महेन्द्रप्रकाश विमलीले बताए। ‘आफ्नो झण्डै ७५ वर्ष उमेर भयो, खोलामा पुल तरेर यात्रा गर्ने अझै पूरा हुन सकेको छैन,’ विमलीले भने।

‘धेरै नेता र सांसदलाई जिताएर पठायौं, आश्वासन मात्र पाइयो तर पुल बनेन,’ उनको गुनासो छ।

पुल नहुदाँ यहाँ रहेको उच्च माविमा समेत प्रभाव पर्ने गरेको छ। ठूलो वर्षा र खोलामा बाढी आएपछि विद्यार्थीहरू कम उपस्थित हुने र कतिपय शिक्षकहरूलाई पनि उपस्थित हुन कठिनाइ हुने नेरा माविका प्रधानाध्यापक सुरेन्द्र चौरसियाले बताए। विद्यालयमा अध्ययन गर्न अन्य गाउँहरूबाट पनि आउने गरेको र धेरै शिक्षक-शिक्षिकाहरू पनि बाहिरबाट आउने भएकाले वर्षाको महिना समस्या हुने प्रअ चौरसियाको भनाइ छ।

आफू वडाअध्यक्ष हुँदासमेत पटक-पटक क्षेत्र सांसद, पूर्वमन्त्री र स्वयं नगरपालिकाको नेतृत्वसँग समस्याबारे जानकारी गराउँदा समेत बेवास्ता गरेको वडा नम्बर १७ का निवर्तमान वडाअध्यक्ष नवराजबहादुर खड्काले बताए।

वर्तमान वडाअध्यक्ष भीमबहादुर गन्तानको पनि गुनासो उस्तै छ। यसै टोलमा घर भएका वडाअध्यक्ष गन्तानले पनि नदीकै कारण कयौं पटक वडामा कामकाज गर्न जानै नपाएको गुनासो गरे। सरोकारवाला निकायका सबै यो समस्याका बारे जानकार रहेको तर काम हुन नसकेको गुनासो वडाअध्यक्ष गन्तानले गरे।

उता जीतपुरसिमराका मेयर राजन पौडेल पनि समस्याबारे जानकार छन्। उनले पनि सडक डिभिजन र मन्त्रालयमा एक-दुई पटक पहल गरेको र छिट्टै टेन्डर हुने आश्वासन पाएको बताए। तर, काम हुन नसक्दा आफू पनि लज्जित भएको बताए। पुल निर्माणका लागि फेरि थप पहल गर्ने प्रतिबद्धता उनको छ।

पुल निर्माणका लागि टेन्डर नभए पनि पुलको शिलान्यास भने गत वर्ष नै भइसकेको छ। पुल शिलान्यास भएको एक वर्ष भयो तर न त पुलको ठेक्का नै लागेको छ, न त पुल बन्ने सुरसार नै छ। गत वर्ष असोज ९ गते तत्कालीन बारा २ सांसद एवं हालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले सो पुलको शिलान्यास गरेका थिए।

गत मंसिरमा सम्पन्न आमनिर्वाचनलाई लक्षित गरेर भोट बटुल्नका लागि सोही क्षेत्रका तत्कालीन सांसद एवं जसपा प्रदेश अध्यक्ष रामबाबुकुमार यादवले नै उक्त पुलको शिलान्यास गराएका थिए।

सडक विभागको पुल शाखाले गत असोज ४ गते जैतापुर र रामनगर जोड्न पसाहा नदीमा १६५ मिटर लम्बाइ दुई लेन गरी करिब ४० करोड रूपैयाँको लागतमा निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो। तर, ठेक्का साकार नहुँदै हतार-हतारमा पुल शिलान्यास गर्नु चुनावका लागि जनतालाई झुक्याउने काम मात्र भएको रामनगरका स्थानीय अगुवा परशुराम दाहालले बताए।

विभागले निकालेको उक्त टेन्डरउपर कुनै पनि बिड नभएपछि फेरि ठेक्का नै भएको छैन। वर्षामा बाढीले डुबान हुने र हिलो अनि सुक्खायाममा बालुवा र धुलोका कारण हैरानी खेप्नुपर्ने बाध्यता रहेको वडा नं. १७, रामनगरका समाजसेवी अगुवा चुडाहरि अधिकारीको गुनासो छ।

सडक विभागअन्तर्गत डिभिजन सडक कार्यालयका बारा जिल्ला हेर्ने इन्जिनियर रमेश पाण्डेयका अनुसार आफूलाई प्राप्त प्रारम्भिक जानकारीअनुसार बजेट सुनिश्चिता नभएकाले अर्थ मन्त्रालयले गत वर्ष टेन्डर प्रक्रिया रोकिदिएको हो। यो वर्ष टेन्डर प्रक्रियामा जाने सम्भावना रहेको पाण्डेको भनाइ छ।

चुनावका बेला पुल बनाइदिने आश्वासन दिँदै यी गाउँवासीसँग मत लिएर जाने तर जितेपछि नाकमुख नै देखाउन नआउने भन्दै रामनगर रघुनाथपुरवासी सांसदहरूप्रति पनि आक्रोशित छन्। गत मंसिरमा सम्पन्न संघ तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) की पूर्वमन्त्री ज्वालाकुमारी साह यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् भने प्रदेशसभातर्फ पनि एमालेकै रवीन्द्रदास श्रेष्ठ निर्वाचित भएका थिए।

स्रोत : सन्तोष पाण्डे/बारा- आईएनएस स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *