पार्टी रूपान्तरण र सुधारको काम आफैंबाट सुरू गराैं : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए ।

‘अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ,’ रक्षामन्त्रीसमेत रहेका खड्काले भने, ‘पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।’ उनले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको तथा नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे ।

उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने संकल्प बोकेर काम गरे पार्टी सुधार र रुपान्तरण हुने बताए । पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राखे ।

उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भए पनि चाँडै त्यसलाई पूर्णता दिइने जानकारी पनि दिए । उनले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औँला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए ।

सरकारले सुशासनको अभियानलाई निरन्तरता दिइने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्तागठबन्धन बनेकाले सरकार पनि त्यही संकल्पका साथ अघि बढेको जानकारी गराए ।

उनले सरकारले चाँडै लम्पी स्कीन रोगबाट पीडित किसानलाई राहत दिइने र त्यसका लागि कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *