महिला टी-२० सिरिज : मलेसियासँग हार्‍याे नेपाल, तर हङकङसँग फाइनल खेल्ने

समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ । समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार/चार अंक भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् । तीनै टोली समूह चरणका दुई-दुई खेलमा विजयी भएका थिए ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि आज पहिला ब्याटिङ गरेको हो । मलेसियाविरुद्धको खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो ।

मलेसियाले ८४ रनको विजय लक्ष्य १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍याे । मलेसियाका लागि अइना हसिमले अविजित ३७ तथा इजाती इम्माइलले २१ रन बनाइन् । बलिङतर्फ नेपालका लागि पूजा महतो, रूबिना क्षेत्री बेलबासे र सीता रानामगरले एक/एक विकेट लिए ।

यसअघि नेपालका लागि ब्याटिङ गर्दै कप्तान रूबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिए । अरू खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी-ट्वान्टी सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *