अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प २ लाख अमेरिकी डलर धरौटीमा रिहा

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । कडा सुरक्षा बन्दोबस्तमा ट्रम्पको त्यहाँ औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको छ । त्यसलगत्तै उक्त फोटो सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

फुल्टन काउन्टी जेलको प्रक्रिया पुरा गरेर उनी २ लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् । ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।

जेलको प्रक्रियामा सामेल भएलगतै जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका ट्रम्पले आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए । ‘निर्वाचनलाई चुनौती दिन पाउनुपर्छ । मलाई विश्वास छ त्यो निर्वाचन धाँधलीपूर्ण थियो । मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ,’ उनले भने ।

बुधबार उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सहप्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको छ । उनी २०२४ मा फेरि चुनावमा भाग लिने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *