गौहत्याविरूद्ध प्रदर्शनमा उत्रिएका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवसहित १५ जना पक्राउ

नयाँ बानेश्वरस्थित संघीय संसद भवन आगाडिबाट राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवलगायत सदस्यहरू पक्राउ परेका छन्। नेपालको राष्ट्रिय जनावर गाईको हत्याविरूद्ध नाराबाजी गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

राष्ट्रिय एकता अभियानका केन्द्रीय संयोजक विनय यादव, नेता बीपी यादव, काठमाडौं सम्पर्क मञ्चका संयोजक विनोदकुमार सिंह, अभियानका केन्द्रीय सदस्य उमेश सिंह, राकेश सिंह ,गणेशकुमार सिंह, सन्तोष मिश्रालगायत अभियानका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेर तीनकुनेस्थित प्रहरी वृत्तमा राखेको छ।

संसद भवन अगाडि ‘गौहत्याका मतियार प्रधानमन्त्री प्रचण्ड राजीनामा दे’, ‘गौहत्या बन्द गर’, प्रधानमन्त्री राजीनामा देऊ,’ ‘संविधानको रक्षा गर’, ‘गौवंशलाई हत्या गर्नेहरूलाई कारबाही गर,’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका हुन्।

केही दिन अगाडि कोशी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरूले सार्वजनिक रूपमै गोरू काटेर भोजभतेर गरेको भिडियो समाजिक सञ्जालमा आएपछि चौतर्फी विरोध हुँदै आएको छ।

बुधबार मात्रै मधेस प्रदेशको सिरहा जिल्लाको पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्बामा हिन्दू सम्राट सेनाले सांसद तत्माविरूद्ध प्रदर्शन गरेको थियो। संविधानमा गाई-गोरू काटेर खान नहुने उल्लेख हुँदाहुँदै जसपाकी सांसद तत्माले एक फेसबुक पोष्टमा ‘गाई-गोरू खानेलाई खान दिनुपर्छ,’ भन्ने टिप्पणी गरेपछि उनको आलोचना भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *