पुटिनविरूद्ध विद्रोह गरेका वाग्नर प्रमुख विमान दुर्घटनामा मारिएका हुन्?
रूसी निजी सेनाका प्रमुख येभ्गेनी प्रिगोजिनको निजी विमान रूसको टभर सहरमा दुर्घटनाग्रस्त भएको छ। जहाजमा सवार सबै दस जना मारिएका छन्।
रूसको संघीय यातायात एजेन्सीले विमान दुर्घटनामा ज्यान गुमाउनेको सूचीमा येभ्गेनी प्रिगोजिनको नाम पनि समावेश गरेको छ।
प्रिगोजिनबाहेक वाग्नर समूहका सहसंस्थापक दिमित्री एटकिन, अन्य पाँच यात्रु र तीन चालक दलका सदस्यहरू पनि मृतकहरूमा सूचीकृत छन्।
विमानलाई गोली हानेर खसालिएको हो वा हावामा नै विष्फोट भएको हो भन्ने खुल्न सकेको छैन।
यस वर्षको जुनमा येभ्गेनी प्रिगोजिनले छोटो समयका लागि रूसविरूद्धको ‘विद्रोह’ को नेतृत्व गरेका थिए। तर, पछि रूसी सरकारसँगको सम्झौतापछि उनीमाथि लगाइएका सबै आरोप फिर्ता लिइएको थियो।
त्यसपछि उनी बेलारूस गएका। तर, त्यसबेलादेखि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई माफ नगर्ने अनुमान गरिएको थियो।
कुन विमानमा सवार थिए प्रिगोजिन?
रूसी सहर टभरमा खसेको येभ्गेनी प्रिगोजिनको निजी विमानलाई एम्ब्रेयर लिगेसी जेटको रूपमा वर्णन गरिएको छ। यसमा आरए-०२७९५ लेखिएको छ।
प्रसिद्ध उडान ट्र्याकिङ वेबसाइट फ्लाइट राडार २४ मा विमान कहाँबाट उडेको थियो भन्ने देखिएको छैन।
बुधबार सुरूमा यो मस्को नजिकै उडेको देखिएको थियो। त्यहाँ यो विमान २९ हजार फिटको उचाइमा थियो, तर त्यसपछि यो ट्र्याकिङ वेबसाइटमा हराएको देखिन थाल्यो। त्यसपछि यो खस्न लागेको संकेत मिलेको थियो किनकि यसको उचाइ शून्य फिट देखिएको थियो।
उक्त विमान अटोलक्स ट्रान्सपोर्टमा दर्ता भएको थियो। अमेरिकी सरकारले उक्त विमान येभ्गेनी प्रिगोजिनकै भएको दाबी गरेकाे छ।
विमानको उडान रेकर्ड फ्लाइटराडार २४ मार्फत अत्यन्त सानो हिस्सा फेला परेको छ।
तर, हालैका दिनहरूमा यस विमानले मस्को र सेन्ट पिटर्सबर्गबीच थुप्रै उडानहरू भरेको थियो र बेलारूसको स्थानीय मिडियाले यसको फोटो पनि खिचेको थियो। वाग्नर समूहले अब यहीँ आफ्नो क्षेत्र विस्तार गरेको बताइँदैछ।
प्रिगोजिनसँग जोडिएको टेलिग्राम च्यानलले गर्याे मृत्युको पुष्टि
वाग्नर समूहसँग जोडिएको टेलिग्राम च्यानल ‘ग्रे जोन’ ले येभ्गेनी प्रिगोजिनको मृत्यु भएको बताएको छ।
‘ग्रे जोन’ ले भनेको छ, ‘येभ्गेनी प्रिगोजिनले रूसविरूद्ध गद्दारी गरेका थिए, त्यसैले उनलाई मारियो।’
पुटिनविरूद्ध असफल ‘विद्रोह’
जुन २४, २०२३ मा वाग्नर समूह प्रमुख येभ्गेनी प्रिगोजिनले रूसी राष्ट्रपति पुटिनविरूद्ध विद्रोहको घोषणा गरेका थिए।
रूसको भाडाको सैनिक समूहका प्रमुख प्रिगोजिनले त्यतिबेला रूसको सैन्य नेतृत्वलाई पराजित गरेर मात्र समाप्त हुने बताएका थिए।
त्यसपछि वाग्नर समूहका लडाकुहरू युक्रेनको सिमाना पार गरी रूसको रोस्तोभ-अन-डोन सहरमा प्रवेश गरे र युक्रेनसँग युद्ध भइरहेको सेनाको मुख्यालयलाई कब्जामा लिए।
रोस्तोभ सहर कब्जा गरेपछि प्रिगोजिनले रूसी रक्षामन्त्री सर्गेई शोइगु र जनरल भ्यालेरी गेरासिमोभ आफूलाई भेट्न नपुगेको खण्डमा मस्कोतर्फ जाने बताएका थिए। उनले कोही आफ्नो बाटोमा आए उसलाई आफ्ना लडाकुहरूले नष्ट गर्ने बताएका थिए।
त्यसपछि प्रिगोजिनले यसलाई सैन्य विद्रोहको सट्टा न्यायका लागि लडाइँ भएकाे बताउँदै भनेका थिए, ‘राष्ट्रपति कार्यालय, सरकार, प्रहरी र रूसी गार्डहरूले पहिले जस्तै काम गरिरहनेछन्। यो सैन्य विद्रोह होइन न्यायका लागि लडाइँ हो। हाम्रा गतिविधिहरूले सैनिहरूको बाटोमा कुनै हस्तक्षेप गर्दैन।’
त्यसपछि रूसी राष्ट्रपतिले वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई सशस्त्र विद्रोह गरेर रूसलाई धोका दिएको आरोप लगाए र यसलाई ‘देशको पिठ्युमा छुरा घोप्ने’ कार्य भएको बताएका थिए।
सेनाले आफ्नो समूहका लडाकुहरूलाई आवश्यक मात्रामा हतियार र गोलाबारूद उपलब्ध गराउन नसकेको विषयलाई लिएर रूसी सेना र प्रिगोजिनबीच विवाद भएको थियो।
तर रातारात उनले मस्कोतर्फ यात्रा गर्ने आफ्नो निर्णय फिर्ता लिएका थिए।
यस असफल विद्रोहपछि प्रिगोजिनले रूस छाडेका थिए। -बीबीसी हिन्दी
प्रतिक्रिया