धादिङ बस दुर्घटना अपडेट : मृतक ४ जनाको सनाखत, १५ घाइते काठमाडौं रिफर

धादिङको गजुरी गाउँपालिका-२, चालिसेमा बुधबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका ८ मध्ये ४ जनाको सनाखत भएको छ।

दुर्घटनामा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का अन्दाजी २४/२५ वर्षीय सविन रम्तेल र कास्कीको फूलबारीका अन्दाजी २४/२५ वर्षीय सुमन थापाको मृत्यु भएको हो।

आज बिहान काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस त्रिशूली नदीमा खसेको थियो।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी वरिष्ठ हवल्दार सूरवीर बुमीका अनुसार दुर्घटनामा घाइते भएका १६ जनामाध्ये १५ जनालाई काठमाडौं रिफर गरिएको छ। उनीहरूमध्ये ५ जनाको अवस्था गम्भीर छ।

गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिक-३ की २२ वर्षीया अञ्जु रानामगर, म्याग्दीको रघुगंगा गाउँपालिका-७ का २९ वर्षीय प्रवीण पुन र परिचय नखुलेका थप तीन जना छन्।

काठमाडौं रिफर गरिएका घाइतेहरूमा पर्वतको मोदी गाउँपालिका-१ का ४१ वर्षीय गुरूदत्त शर्मा पौडेल, बसका चालक म्याग्दीको बेनी नगरपालिका-६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका-३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका-१ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका-९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका-२ का १६ वर्षीया गीता जग्जाली छन्।

त्यस्तै बागलुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका-६ की २३ वर्षीया रिना रानामगरलाई पनि काठमाडौं रिफर गरिएको छ। उनीहरूको अवस्था मध्यम छ।

दुर्घटनामा सामान्य घाइते भएकी बागलुङ गलकोटकी ६८ वर्षीया ज्ञानु बुढामगर भने उपचारपछि डिस्चार्ज भइसकेकी छन्।

बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपि, यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *