धादिङमा भएको बस दुर्घटनाको उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धादिङकाे गजुरी गाउँपालिका-२ मा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

साथै दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त र घाइतेहरूकाे शीघ्र स्वास्थ्य लाभकाे कामना पनि गरेका छन्।

उनले उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशनसमेत दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘ काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस गजुरी-२, धादिङको राजमार्गबाट त्रिशूली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ। सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु। साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।’

प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बिहान ११:१५ धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव निकालिएको छ।

यस्तै १७ जना घाइेतेको उद्धार गरिएको छ। तीमध्ये १३ जनालाई काठमाडौं रिफर गरिएको छ भने अन्य ४ जनाको मलेखु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा अरू यात्रु पनि सवार रहेको हुन सक्ने अनुमानपछि खोज तथा उद्धार कार्य जारी राखिएकाे छ। सशस्त्र प्रहरीले गोताखोरसहित ८१ जना जनशक्ति परिचालन गरेको छ।

खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय पनि खटिएका छन्।

साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ। तर, दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *