विराटनगरको ग्रिनक्रस अस्पतालका कर्मचारीको मिलेमतोमा नवजात शिशुको किनबेच, चिकित्सकसहित ६ जना पक्राउ

प्रहरीले विराटनगरको ग्रिनक्रस अस्पतालका कर्मचारी र दिपेश मेडिकल हल संचालक डा तपेश्वर लाल कर्णलाई नवजात शिशुको कारोबार गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका ६ जनामध्ये एकजना अस्पतालमा कार्यरत कर्मचारी, शिशुका पिता, चिकित्सक र अन्य तीनजना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १३ असारमा अस्पतालमा सकुशल जन्मिएको शिशुलाई आर्थिक लेनदेनमा बेपत्ता बनाएको आरोपमा कारबाही सुरु भएको हो । प्रहरीले बेपत्ता रहेका शिशुको समेत स्वस्थ्य अवस्थामा सकुशल उद्धार गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चिकित्सक डा कर्ण, अस्पतालकी कर्मचारी सुधा राजवंशी, शिशुका पिता गोविन्द राई, दिलमाया राजबंशी, नारायण राजवंशी र निर्मला यादवलाई पक्राउ गरेको हो ।

अनुसन्धानमा कोसी अस्पतालका पूर्वमेडिकल सुपरीटेन्डेन्ट रहेका डा कर्णले मोरङ कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बेचेको खुलेको छ । उनले के कति रकममा शिशु बेचेभन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशु केही समयअघि बेपत्ता भएपछि आमाले अनुसन्धानको माग गरेकी थिइन् । प्रहरीले सुरुमा डा कर्ण र राईलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । ।

असार १३ गते ती जाहेरीकर्ता युवतीले ग्रीनक्रस अस्पतालमा छोरी जन्माएकी थिइन्। शिशुलाई जन्म दिएपछि शिशु र प्रेमी बेपत्ता भएपछि युवती प्रहरीमा पुगेकी थिइन्। दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए।

सुरूमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आएका थिए। उक्त क्लिनिक डाक्टर कर्णको हो।

क्लिनिकमा आएकी युवतीलाई कर्णले ग्रीनक्रस अस्पतालमा पुर्‍याएका थिए।

डा कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए। उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले नै लिएका थिए ।

डा कर्णले किशोरीको वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको खुलेको छ। अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ।

व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असारमा डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ। डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर