राजनीति

राष्ट्रिय मान्यता प्राप्त दलको बैठक भोलि फेरि बस्ने

सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भए पनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्ने गरी स्थगित भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज आयोजित बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो। यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याएको थियो।

संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गर्दै त्यसका आधारमा सदनमा अवरोध भइरहनु देश र जनताको पक्षमा नभएको बताएका थिए।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदनको अवरोध खुलाउने विषयमा गम्भीर छलफल भए पनि आज कुनै निष्कर्ष निस्कन नसकेको बताए। बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गरेका थिए।सभापति लामिछानेका अनुसार आज गम्भीर र एजेण्डा केन्द्रित रहेर छलफल भएको र सम्भवतः सोमबारको बैठकमा सहमति हुने विश्वास व्यक्त गरे।

सदनमा निरन्तर अवरोध हुँदा राष्ट्रिय महत्त्वका विभिन्न विधेयकमा छलफल हुन नपाएको तथा मुलुकका सामु देखा परेका समस्याका बारेमा समेत सांसदहरूले धारणा राख्न नपाएको भन्दै आफूहरूले तत्काल बैठक चल्नुपर्ने धारणा राखेको सभापति लामिछानेको भनाइ छ ।

बैठकमा प्रधानमन्त्रीले राज्यका निकायले गर्ने काममा सबैले साथ र सहयोग गर्नुपर्ने र त्यसलाई प्रभावित पार्ने गरी कुनै पनि अर्को समिति तत्काल आवश्यक नपर्ने बताएका थिए।

यस्तै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको माग कायमै रहेको बताए। उनले सदनको अवरोध खुलाउन आफूहरू तयार भए पनि सरकारको तर्फबाट ल्याउने कार्यसूची अगाडि बढाउन भने तयार नरहेको सङ्केत गरे।

उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सहमति हुन नसक्दा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकसमेत स्थगित भएको छ। प्रमुख सचेतक गिरीले सुन तस्करी प्रकरणमा आफ्नो पार्टीका नेता तथा कार्यकर्ता जोडिएको भए पनि कारबाहीको दायरामा आउनुपर्ने प्रतिक्रिया दिए।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ र नेता हितराज पाण्डे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए। यस्तै नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलगायतको उपस्थिति थियो।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो। उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *