शाश्वतधाममा यसरी गरिदैँछ बागेश्वर सरकारको सुरक्षा
भारतका लोकप्रिय धर्मगुरु तथा कथा वाचक बागेश्वरधाम सरकार उपनाम रहेका धीरेन्द्रकृष्ण शास्त्रीको सुरक्षा ‘थ्रेट’ को विश्लेषणपछि सुरक्षा निकायले उनको सुरक्षामा विशेष व्यवस्था गरेका छन् ।
प्रहरी अधिकारीहरुका अनुसार भारतमा उच्च सुरक्षा घेरामा रहने बागेश्वरधाम सरकारका लागि तीन तहको सुरक्षा घेराबन्दी र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।
पूर्वी नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा शनिबारदेखि विराट हनुमान कथा प्रवचन गरिरहेका उनका लागि कथा सुन्न शाश्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ । शाश्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
शाश्वतधाममा हुने कथा वाचनमा सर्वसाधारणको भिड बढ्दै गएपछि व्यवस्थापनका लागि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तिवारीले बताए। चौधरी ग्रुपले आफ्नै निजी सुरक्षा गार्ड र संयमसेवकहरू समेत परिचालन गरेको छ । हनुमान कथा प्रवचनका लागि दैनिक १० हजारदेखि २० हजारसम्म अटाउने गरी भक्तजनलाई कथा श्रवणका लागि बस्ने व्यवस्था मिलाइएको छ ।
दुम्कौलीस्थित शास्वतधाममा श्री हनुमान कथा सुरु गर्नुपूर्व उनले माता जानकीको माइत नेपाल रहेको प्रसङ्ग उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई मामाको सम्बोधन गर्दै खुसी व्यक्त गरेका थिए । जानकीको जन्मभूमिमा जन्म लिनपाउने सौभाग्य नेपालीलाई मिलेको बताउँदै उनले नेपाली भाग्यमानी रहेको बताए ।
भगवानले समेत भारत छोडेर आउनु परेको तर्क गर्दै संयोग नै मान्नुपर्ने बताउँदै पशुपतिनाथ, मुक्तिनाथ, रघुनाथ र बागेश्वरी नाथ यसले नेपालीवासीको सम्पूर्ण कुरा सुधार हुने विश्वास दोहोराए। नेपाल आउनुको श्रेय चौधरी परिवारलाई दिँदै तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन साँझ ५ बजेदेखि श्री हनुमान कथा सुरु भएको थियो ।
उद्योगपति एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आएका हुन् । शास्वतधाम हिन्दु धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रूपमा चर्चित छ । शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आकर्षक शैलीको हिन्दु मन्दिर हो । यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ ।
चौधरी ग्रुपका निर्देशक वरुण चौधरीले स्वागत गर्दै धार्मिक ज्ञान आदान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताए । शाश्वतधामको ६ वर्षको अवधिमा ५० लाखले अवलोकन गरेको उनले जानकारी दिए।
प्रतिक्रिया