सभामुख-प्रमुख सचेतक बैठक : सदन खुलाउने विषयमा जुटेन सहमति

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।

सभामुख घिमिरेले लगातार संसद् अवरूद्ध हुँदा सांसदप्रति आमजनतामा नकारात्मक सन्देश गएकाले सहमतिका लागि मान्यता प्राप्त दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतकले संसद् अवरोधलाई थप सशक्त बनाउने र सत्तापक्षले पनि आफ्नो अडान कायमै राखपछि बैठक निष्कर्षविहीन बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा रास्वपाका तर्फबाट आफूले आफ्ना विमति भए सदनमै छलफल गर्न र संसद् अवरोध अन्त्य गर्न आग्रह गरेको उनले बताए ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकलगायत सहभागी थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करीको प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ भने सत्तारूढ दलहरू त्यस विषयमा सहमत हुन नसक्दा संसद् सञ्चालन हुन सकेको छैन ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिए पनि सञ्चालन हुन सकेको छैन । सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर