झापाकी कमला मुर्मू इराकमा तीन वर्षदेखि ‘बन्धक’

अर्जुनधारा नगरपालिका-६ की ३० वर्षीया कमला मुर्मूलाई इराकमा अज्ञात गिरोहको बन्धक बनाएको बताउँदै उनकी आमा लखी मुर्मूले उद्धारका लागि अपिल गरेकी छन्।

तीन वर्षअघि वि. सं. २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्‍याएर बेचेको उनकी आमा बताउँछिन्।

‘ओमान लाने भनेर इराक पुर्‍याएछन्,’ लखीले कमलाको फोटो देखाउँदै भनिन्, ‘६ महिनासम्म सम्पर्क हुन सकेन । त्यसपछि बेलाबेला मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्‍यो आमा भनेर भ्वाइस मेसेज आउँथ्यो।’

कमलालाई बन्धक बनाइएको खुलासा यसअघि नै भए पनि उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास भएन। दोहोरो कुराकानी र सम्पर्क नभएकाले उनलाई कहाँ बन्धक बनाइएको छ भन्ने पनि पत्ता लाग्न सकेको छैन।

कमलाकी आठ वर्षीया छोरी काजल मुर्मूको लालनपालन लखीले गरिरहेकी छन्। काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्। वैवाहिक सम्बन्धमा आएको विग्रह र आर्थिक अवस्थाका कारण कमला ०७७ भदौमा वैदेशिक रोजगारीमा गएकी थिइन्।

त्यतिबेला इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड-१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्‍याएको लखी बताउँछिन्।

इराकमा बन्धक बनेकी छोरीले कहिलेकाँही भ्वाइस मेसेज पठाउँछिन्। इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस मेसेजमार्फत बताएकी छन्।

‘अर्काको घरमा मरून्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिँदो रहेछ,’ छोरीको भ्वाइस मेसेजबाट आएको कुरा सुनाउँदै लखी भन्छिन्, ‘छोरीले पेटभरि खान पनि पाउँदिन रहिछे। काममा जान आनाकानी गर्‍यो भने पिट्दा रहेछन्। घरमा सम्पर्क गर्नसमेत नदिने रहेछन्।’

कमलाले आफ्नो उद्धार नभए बन्धक बनाउनेबाट मारिन सक्ने बताएकी छन्। छोरी चिसै भुँइमा सुत्ने गरेको पनि लखीले बताइन्।

‘दिउँसो कामका बेला सम्पर्क हुने सम्भावना हुँदैन,’ लखीले बन्धक बनेकी छोरीको त्रासदीपूर्ण अवस्था सुनाउँदै भनिन्, ‘गिरोहका मान्छेहरू सुतेको मौका छोपेर घरको चार तलामाथि लुकेर मोबाइलबाट सानो स्वरमा भ्वाइस मेसेज पठाएको भन्छिन्। यो थाहा पाए भने मार्छन् भन्ने डर छ।’

गिरोहले कमलालाई गाडीमा राखेर विभिन्न घर र कम्पनीमा लैजाने, काम लगाउने र ल्याउने गर्दै आएको कमलाकी आमा लखीले बताइन्। बाहिरी संसारमा कसैसँग सम्पर्क गर्ने सम्भावना नभएको समेत उनले बताइन्।

पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाललगायतका उद्धार संस्थामा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ। ती निकायले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ।

गत वर्ष परिवारले नै एजेन्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर छलफल चलाएको थियो।

त्यसबेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएर फुत्किएका थिए। अहिले कट्टेल र खरेल दुवै सम्पर्कमा आउन चाहेका छैनन्।

मुर्मू परिवारको छिमेकी सङ्गीता प्रसाईं वंशलले उद्धारका लागि अनुरोध गरेर प्रहरी, प्रशासन र नेतासमक्ष धेरै धाइसक्दा कुनै परिणाम नआएको दुखेसो पोखिन्।

‘संघीय संसदकी उपसभामुख इन्दिरा राना र कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको गृहनगरसमेत अर्जुनधारा हो,’ उनले भनिन्, ‘अब उहाँहरूसँग मात्र भेट्न बाँकी छ।’ -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *