पहिराेले बेँसीसहर-चामे सडक पुनः अवरूद्ध

पहिराले बेँसीसहर-चामे सडक पुनः अवरूद्ध भएको छ। आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरूद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ।

बेँसीसहर नगरपालिका वडा नं. ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ स्थित तीन ठाउँमा पहिरो गएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरूषोत्तम अधिकारीले जानकारी दिए।

सो स्थानमा ठूला-ठूला ढुङ्गासहितको पहिराले सडक अवरूद्ध बनाएको छ। केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ। सडक अवरूद्ध भएसँगै सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन्।

यसअघि गत आइतबारसमेत नासों गाउँपालिका-१, तालडाँडामा पहिराले सडक अवरूद्ध बनाएको थियो।

त्यस्तै ६ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक-पटक सडक अवरूद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीले सास्ती खेप्नुपरेको छ।

सडक सञ्चालनमा आएको वर्षौं भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन्। पैँसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलाेमिटर रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *