ब्याडमिन्टन एशिया क्षेत्रीय च्याम्पियनसिप : नेपाललाई पहिलो दिन दोहोरो सफलता

ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ राजधानीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले एक कार्यक्रमबीच च्याम्पियनसिपको उद्घाटन गरे ।

कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा आफुलाई खरो उतार्ने भन्दै खेलाडी तथा आयोजकलाई सफलताको शुभकामना दिए । उनले प्रतियोगिता नेपालमा आयोजना गर्न सहयोग पुर्याएकोमा ब्याडमिन्टन एशियालाई धन्यवाद पनि दिए । सदस्य सचिवले नेपालमा यस्ता अन्तराष्ट्रिय प्रतियोगिताहरु अन्य संघहरुले पनि गनुपर्ने भन्दै आफू त्यसको लागि सहयोग गर्न सदा तत्पर रहेको बताए ।

ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक रामजी बहादुर श्रेष्ठले यस च्याम्पियनसिपलाई नेपालमा आयोजना गर्न सहयोग गर्ने ब्याडमिन्टन एशिया तथा ब्याडमिन्टन एशियाका विकास समितिका चेयरम्यान वाजीद अली चौधरी र टिमप्रति कृतज्ञता प्रकट गरे ।

यता नेपालले उद्घाटन दिनको खेलमा मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेको छ । नेपाल सहित श्रीलंका, पाकिस्तान, माल्दिभ्स, भुटान र बंगलादेश सम्मिलित च्याम्पियनसिपको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यु–१५ तर्फ र यु–१७ दुवै तर्फ जित हात पारेको छ । यु–१५ र यु–१७ दुवै तर्फ नेपालले वेष्ट अफ फाईभको प्रतिस्पर्धामा माल्दिभ्स माथि ५–० को जित निकालेको हो ।

लिगको आधारमा खेलाइएको प्रतियोगितामा १५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले माल्दिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ ले, रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ले, सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८, दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले पराजित गरे ।

यस्तै १७ तर्फ कविर के.सी. र रोजी राईको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४, रोजी राईले ऐस्थालाई २१–१०, २१–८, कविर के.सी.ले अजहरलाई २१–७, २१–१०, अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० र कविर के.सी. र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले पराजित गरे ।

यस्तै अन्य खेलमा बंगलादेशले १५ तर्फको खेलमा भुटानलाई ५–० र १७ तर्फ मालदिभ्सलाई ५–० ले पराजित गर्यो । श्रीलकाले यु १५ तर्फ मालदिभ्सलाई ५–० ले नै पराजित गर्न सफल भएको छ ।

मिक्स टिम इभेन्टस्मा महिला र पुरुषको एकल, महिला र पुरुषको युगल र मिक्स गरी पाँच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *