सन्दीप लामिछानेविरूद्धको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो।

किशारीकी आमाको जन्ममिति २०५३ साल भएको पाइएको तथा सो विवरणका कारण पीडित किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिएपछि न्यायाधीश खतिवडाको इजलासले किशोरीको आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो।

किशोरीको उमेर भने घटना हुँदाको समयमा नाबालिग नरहेको, १८ वर्ष पूरा भएको विवरण नारायणी अस्पतालले अदालतलाई पठाएको छ।

विश्वकप छनोटका लागि सन्दीप जिम्बाबे गएयता उनीविरूद्ध मुद्दामा सुनुवाइ रोकिएको थियो। उनी फर्केलगत्तै सुनुवाइ सुरू भई आज आदेश पनि आएको हो। अब यो मुद्दामा निरन्तर सुनुवाइ हुनेछ।

सर्वोच्च अदालतले गत फागुन १५ गते उक्त मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन आदेश दिएको थियो। त्यसपछि कैयौं पटक पेसी तोकिए पनि सुनुवाइ स्थगित भएका थिए।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध नाबालिगलाई गौशालाको एक हाेटलमा लगेर जबरजस्ती करणी गरेको मुद्दा परेको छ। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर