नक्कली भुटानी शरणार्थी प्रकरण : थप १८ जनाले दिए करिब १ करोड ८६ लाख ठगिएको जाहेरी

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी गर्ने गिरोहका विरूद्ध थप १८ जना पीडितले जाहेरी दिएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप १८ जना पीडितहरूको जाहेरी प्राप्त भएको जनाएको हो।

कार्यालयका अनुसार लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौंलगायतका जिल्लाहरूका १८ जना पीडितहरूले जाहेरी दिएका हुन्।

उनीहरूले करिब १ करोड ८५ लाख ९२ हजार रूपैयाँभन्दा बढी ठगी गरेको भन्दै ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्।

उनीहरूले दिएको सक्कल जाहेरी दरखास्तलगायतका कागजात आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

यस ठगीमा संलग्न रहेको आरोपमा सरकारका पूर्वमन्त्री र उच्च सरकारी अधिकारीसमेत पक्राउ परेका छन्।

पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर