सीआईबीले पक्राउ गरेका डा. रञ्जितकुमार यादव छुटे

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको भन्दै प्रहरीले पक्राउ गरेका डा. रञ्जितकुमार यादव छुटेका छन्।

महोत्तरीको पिपरा गाउँपालिका-८ घर भएका डा. यादवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार हिरासतमुक्त गरेको हो।

सीआईबीले उनलाई २६ साउनमा पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो।

अनुसन्धानका क्रममा उनी वास्तविक प्रतिवादी नभएको खुलेपछि उनलाई छाडिएको हो।

सीआईबीले नेपाल मेडिकल काउन्सिलसँग आइतबार यादवको थप प्रमाणपत्र माग गरेको थियो। काउन्सिलले सीआईबीलाई उनको दर्ता प्रमाणपत्र र आवदेन फारम भुलवश संलग्न हुन गएको व्यहोराको पत्र पठाएपछि उनी छुटेका हुन्।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेकाहरूमाथि अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर सीआईबीले यसबीच नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित ८ जना डाक्टरहरूलाई पक्राउ गरेको थियो।

सांसद शर्मालाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएन भने अरूलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो।

यादव हिरासतमुक्त भएसँगै प्रकरणमा अब ६ जना सीआईबीको हिरासतमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *