भौतिक पूर्वाधारतर्फका राष्ट्रिय गौरवका आयोजनामा समय र लागत दुवै बढ्यो

कुन आयोजनाको प्रगति कति ?

‘विकासको पनि विकास’ का रूपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रूपमा सन्तोषजनक नभएको पाइएको छ । एकाध आयोजनाको प्रगति राम्रो भए पनि अधिकांश आयोजना सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ ।

सरकारले नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजना समयमा पूरा नहुँदा लागत र समय दुवै बढेको छ । यसबाट नागरिकले अपेक्षित लाभ लिन सकेका छैनन् भने सरकारले अन्य महत्त्वपूर्ण आयोजनासमेत सुरू गर्न सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत विभिन्न छवटा राष्ट्रिय गौरवका आयोजना छन् । ती आयोजना समयमै सम्पन्न हुन नसक्दा राज्यको दायित्व हरेक वर्ष बढ्दै गएको छ ।

सो मन्त्रालय मातहत रहेको कालीगण्डकी करिडोर (बेनी–जोमसोम योजना) आयोजना आव २०७३/७४ मा सुरू भएको हो । सो आयोजना आव २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको कुल लागत १० अर्ब ५७ करोड रूपैयाँ बराबर छ । हालसम्मको भौतिक प्रगति ७३ प्रतिशत बराबर छ । बाँकी रहेको एक सय दुई किलोमिटरमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन हुन अझै बाँकी छ । दुईवटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ । आयोजनामा कूल पुल सङ्ख्या ३२ वटा छन् । सडकखण्डमध्ये एक सय किलोमिटर कालोपत्र भएको छ ।

यस्तै, कर्णाली करिडोर हिल्सा सिमीकोट सडक आव २०६९/७० देखि सुरू भएको हो । आयोजना आव २०८३/८४ मा सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत छ अर्ब ६६ करोड रूपैयाँ बराबर छ । हालसम्मको भौतिक प्रगति मात्रै २४ प्रतिशत बराबर छ । वित्तीय प्रगति २० दशमलव २१ प्रतिशत बराबर छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उत्तर दक्षिण राजमार्ग कालीगण्डकी करिडोर गैडाकोट राम्दी मालढुङ्गा खण्ड आव २०६६/६७ मा सुरू भएको हो । सो आयोजना आव २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत २५ अर्ब २२ करोड रूपैयाँ बराबर छ । हालसम्मको भौतिक प्रगति मात्रै ४५ प्रतिशत बराबर छ । त्यस्तै, वित्तीय प्रगति ४३ प्रतिशत बराबर छ । सो आयोजनामा कुल ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ३० वटा सम्पन्न भएका छन् । यस्तै २७ वटा निर्माण हुन बाँकी छ । सो सडकखण्ड कुल दुई सय ४५ किलोमिटर रहेकामा एक सय ७७ किलोमिटर बराबर कालोपत्र भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उत्तर दक्षिण कोशी सडक योजना खाँदबारी किमाथाङ्का आव २०६५/६६ देखि सुरू भएको हो । सो आयोजना आव २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत ११ अर्ब ९३ करोड रूपैयाँ बराबर छ । हालसम्मको भौतिक प्रगति ४२ प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत छ । सो आयोजनामा कुल २१ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटा मात्रै पूरा भएको छ । आयोजना कुल एक सय ६२ किलोमिटर रहेकामा आव २०७९/८० को अन्त्यसम्म ७४ किलोमिटर मात्रै ग्राभेल भएको छ ।

हुलाकी राजमार्ग आव २०६६/६७ देखि सुरू भएको हो । सो आयोजना चालु आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कार्यप्रगति सन्तोषजनक नभएपछि आव २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो आयोजनाको लागत ६५ अर्ब २० करोड रूपैयाँ बराबर छ । सो आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ९१ प्रतिशत बराबर छ ।

हालसम्म ५९ अर्ब ६५ करोड रूपैयाँ बराबर खर्च भएको छ । आयोजनामा कुल दुई सय ५० पुल निर्माण गर्नुपर्नेमा एक सय ३२ वटा सम्पन्न भएका छन् । हालसम्म एक हजार ३९ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । कुल एक हजार आठ सय ५७ किलोमिटर निर्माण गर्नुपर्नेछ । यस्तै, कुल एक सय ६७ दशमलव पाँच किलोमिटर सडकखण्ड र ५० वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आव २०६४/६५ मा सुरू भएको हो । आयोजना आव २०७९/८० सम्पन्न गर्नुपर्ने भए पनि निर्माण पूरा नभएपछि आव २०८४/८५ सम्म लम्ब्याइएको छ । आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रूपैयाँ बराबर छ । हालसम्म भौतिक प्रगति ७२ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ७६ दशमलव ८० प्रतिशत बराबर छ । हालसम्म आयोजनामा ६४ अर्ब ७६ करोड रूपैयाँ बराबर रकम ‘मोबिलाइजेसन’ पेस्कीसमेत गरेर खर्च भएको छ । सो आयोजनामा कुल एक सय ३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म एक सय दुईवटा निर्माण भएको छ ।

आव २०७९/८० को अन्त्यसम्म एक हजार चार सय दुई किलोमिटर बराबर सडक निर्माण पूरा भएको छ । सो आयोजनाको कुल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटर छ । यस्तै, एक सय १६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।

राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा बढी भए पनि पूर्ण रूपमा सन्तोषजनक नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अघिल्लो आवभन्दा गत आवको प्रगति राम्रो भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनालाई युद्धस्तरमा अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिए । वर्षौं पहिले निर्माणका काम थालिएका आयोजना पटकपटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिए ।

‘अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडि बढ्ने र एक पटक समीक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरूरी छ,’ मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने, ‘प्रत्येक चौमासिकमा योजनाहरूको अनिवार्य समीक्षा गर्ने चलन बसालौँ, त्यसले आयोजनामा देखिएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।’ मन्त्री ज्वालाले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई मधेस फास्ट ट्र्याकको कामलाई गति दिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति नहुँदा राज्यले गरेको लगानी र त्यसबाट प्राप्त हुने प्रतिफल नागरिकस्तरमा पुग्न नसक्दा असन्तुष्टि बढेको बताउँदै विकासको समग्र प्रक्रियामा नै पुनरवलोकन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *