भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरिएको छ। टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज शिलान्यास गरेका हुन्।

जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ।

टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित ५ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ। करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन एक वर्ष ६ महिनाभित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए।

भवनमा निर्माणको जिम्मा आरबी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले लिएको प्राविधिकरणले जनाएको छ। यात्रुको चाप बढेको अवस्थामा सय यात्रुले सहजरूपमा टर्मिलन भवनको उपभोग गर्नसक्ने गरी डिजाइन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

करिब १ सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल विस ३०३५ अर्थात् आजभन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा आएको हो।

पाँच सय ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको टक्सार विमानस्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ। यो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर–काठमाडौं उडान भर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *