लुम्बिनीबाट ‘अचार’ भनेर पर्यटक बसमा पठाएकाे कार्टुनमा ‘नक्कली नाेट’, करिब ५३ लाखसहित ९ जना पक्राउ

प्रहरीले करिब ५३ लाख नक्कली नेपाली नोटसहित ९ जनालाई पक्राउ गरेको छ। नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान (५२ लाख ७५ हजार रूपैयाँ) नक्कली नोटसहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाञ्चोकका २५ वर्षीय शुशील कार्की, २३ वर्षीय शिव भण्डारी, ४० वर्षीय अर्जुन सुवेदी, २३ वर्षीय मिलन भण्डारी, २४ वर्षीय श्रीकृष्ण भण्डारी रहेका छन्।

यस्तै झापाका २९ वर्षीय युवराज राई, अछामका २१ वर्षीय अर्जुन बुढा, गुल्मीका ३४ वर्षीय सागर आचार्य र नवलपरासीकी ५३ वर्षीया पार्वती नेपाली पनि पक्राउ परेका छन्।

बिहीबार चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित चेकप्वाइन्टमा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु. १ प ५ नम्बरको पर्यटक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गरेको थियो।

सो क्रममा बसको ढोका छेउको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुनभित्र नक्कली एक हजार दरका ३ हजार ५ सय ७३ थान (३५ लाख ७३ रूपैयाँ) फेला परेको थियो।

बसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिई थप सोधपुछ गर्दा उनीहरूले उक्त कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले अचार हो, काठमाडौं लगिदिनू, काठमाडौं बसपार्कमा रिसिभ गर्न मान्छे आउँछ भनी पठाएको बताएका थिए।

सोपश्चात् प्रहरी वृत्त थानकोटसमेतबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गोंगबु बसपार्क र भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँबाट १ हजार दरका १ हजार ७ सय २ थान गरी थप १७ लाख २ हजार रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो। चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको हो ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए। प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरलगायत सामान बरामद गरेको छ।

उनीहरूविरूद्ध मुद्रासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिएर प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर