सदनको गतिरोध हटाउन शीर्ष नेताबीच जुटेन सहमति, फेरि बैठक बस्दै

सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बसेकाे बैठक विनासहमति सकिएकाे छ।

सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएकाे छलफल विनासहमति सकिएकाे हाे। बैठक आजै नयाँ बानेश्वरमा दिउँसो साढे ३ बजे बस्ने गरी सकिएको हाे।

बैठकपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन चलाउनुपर्छ भन्नेमा सबैको सैद्धान्तिक सहमति रहेको बताए।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकल आज दिउँसो १ बजेका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजेसम्मका लागि सार्न सभामुखसमक्ष आग्रह गरिएकोे जानकारी दिए।

‘सदनमा महत्त्वपूर्ण काम गर्नुपर्ने छ। त्यसैले सहमतिका अधारमा संसद्को बैठक चलाउनुपर्छ भन्ने सकारात्मकरुपमा छलफल भएको छ। आजै बस्ने दोस्रो बैठकले बाँकी टुङ्गो लगाउनेछ,’ उनले भने।

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसद चलाउनुपर्छ भन्नेमा आफूहरू तयार रहेको भन्दै सत्तापक्षले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तीरय समिति गठनका विषयमा स्पष्ट धारणा नदिएकाले आजै बस्ने अर्को बैठकमा सो विषयमा छलफल हुने बताए।

बैठकमा र प्रधानमन्त्री दाहालसहित माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बतौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक लेखक सहभागी थिए।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै आएपछि सदनमा गतिरोध उत्पन्न भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर