राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी स्वदेश फर्काउन भुटानी राजालाई अपिल

भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकलाई अपिल गरेका छन्।

सन् १९९० मा भूटानबाट निर्वासित भएपछि भुटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहेका छन्। उनले भुटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गरेका हुन् ।

विर्तामोडमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले भुटानमा दिनानुदिन सङ्कट चुलिइरहेको, राष्ट्रियता र प्रजातन्त्र जोखिममा रहेको लगायतका कारण जनाउँदै देशभित्रको राजनीतिक समस्या राष्ट्रिय मेलमिलापको नीतिबाट मात्र हल गर्न सकिने भएको हुँदा भुटानका राजालाई पत्र पठाएको जानकारी दिए ।

उनले हाल भुटानको पारो, चाम्गाङ, राबुना, मोन्गार, साम्द्रुपजोङ्खार लगायतका विभिन्न जेलमा दुई सयभन्दा बढी राजबन्दी बिना सुनुवाइ थुनिएको जनाउँदै प्रजातन्त्र र मानव अधिकारको आन्दोलनमा सहभागी हुँदा कठोर जेल जीवन बिताइरहेको ती सबैलाई बिना सर्त रिहाइ गर्न भुटानी राजालाई आग्रह गरेका छन् ।

‘भुटान नै नरहने हो कि भन्ने किसिमको सङ्कटहरू उत्पन्न भइरहेको छ,’ उनले भने, ‘आफ्नो भाषा, संस्कृति र प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउँदा दक्षिण भुटानका डेढ लाख नागरिकलाई ३० वर्षअघि अन्यायपूर्वक देश निकाला गरियो । वर्तमान राजालाई हामी ती सबै राजबन्दीलाई बिनासर्त रिहाइ गरेर भूटानमा राष्ट्रिय मेलमिलापको नीति अपनाउन हार्दिक अपिल गर्दछौँ ।’

अध्यक्ष पौडेलले दक्षिण भुटानबाट देश निकालामा परेका २० प्रतिशत भुटानी नागरिकहरू हाल कतिपय शरणार्थीको रूपमा तेस्रो मुलुकमा पुनःस्थापना भइसकेको र कतिपय हालसम्म पनि शरणार्थी शिविरमा दर्ता भई झापा र मोरङमा कष्टकर जीवन बिताइरहेको विषयमा चिठीमार्फत भुटानी राजालाई अवगत गराएका छन् ।

उनका अनुसार डेढ लाख भुटानी शरणार्थीमध्ये सात हजारको सङ्ख्यामा अझैसम्म शिविरमा रहेको र अरुहरू तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुगेका र शिविरभित्रै बसिरहेका सबै भुटानी शरणार्थीहरू आफ्नो देश भूटान फर्कन पाउने प्रतीक्षामा रहेको उनले बताए ।

त्यसका लागि भुटानी राजाले जेलमा रहेका सबै राजबन्दीलाई रिहा गर्नुपर्ने र सबै शरणार्थीलाई स्वदेश फर्किने वातावरण तयार पार्नुपर्ने पौडेलले माग गरेका छन्।

‘हामीलाई नेपाल सरकारले गाँस, बास र कपासको व्यवस्था गरिदियो,’ उनले भने, ‘तैपनि खुसी छैनौँ किनकि हामी आफ्नै देश भूटान फर्किन चाहन्छौँ । भूटान जान नपाएसम्म हामी खुसी हुन सक्दैनौँ ।’

उनले भुटान सरकारसँग संवाद गरेर भुटानी शरणार्थीलाई स्वदेश फर्किने वातावरण बनाउनका लागि सहयोग गरिदिन नेपाल सरकारलाई अनुरोध गरेका छन्। नेपालमा रहेका शरणार्थीको परिचय नवीकरण गरिदिन र दर्तामा छुटेकाहरूको दर्ता गरिदिन उनले नेपाल सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *