दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

दोलखाको गौरीशङ्कर गाउँपालिका-७, मार्बुमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले एक लाख रूपैयाँ सहयोग गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत फाउन्डेशनले मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर यज्ञ थामीका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो।
फाउन्डेशनका अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी सुन्दर प्रकाश खड्काले विपद्का बेलामा सबैले सहयोग गर्नुपर्ने पवित्र उद्देश्यका साथ पहिरो पीडितलाई उक्त रकम हस्तान्तरण गरेको बताए।
पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए भने उनका साढे दुई वर्षका नातिको मृत्यु भएको थियो। हाल यज्ञको काठमाडौँको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेशनले सहयोग गरेको हो।
‘दोलखामा समस्यामा परेकाहरूलाई फाउन्डेशनले यसअघि पनि सहयोग गर्दै आएको छ। हामी विपद्मा परेकालाई सहयोग गर्न सधैँ तत्पर हुनेछौँ,’ फाउन्डेशनका संरक्षक सोभित उप्रेतीले भने। फाउन्डेशन शिक्षा, स्वास्थ्य र विपद्का समयमा सेवा गर्ने उद्देश्यले स्थापना भएको उनकाे भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *