बुङ्मतीको इँटाले पाएन बजार

ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन्। ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षातका कारण बन्द हुन्छन्। अहिले वर्षातका कारण बुङ्मती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा रहेका छन्। तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन।

बुङ्मती ट्रायल उद्योगद्वारा सञ्चालित यूके इँटाभट्टाका व्यवस्थापक अजय बुढाथोकीका अनुसार तीन वर्षदेखिको ५० लाख बढी इँटा बिक्री नभएर मौज्दात छ।

कोभिडभन्दा पहिले दिनमा ५० गाडी इँटा बिक्री हुन्थ्यो भने अहिले दिनमा एकदेखि आठ गाडी मात्र बल्लबल्ल बिक्री हुने गरेको छ।

करोडौँ रकम खर्च गरेर उत्पादन गरेको इँटा बिक्री नभएर मौज्दात रहेपछि उद्योग सञ्चालक वर्षातकाे समयपछि हिउँदमा उद्योग सञ्चालन गर्ने/नगर्ने भन्ने विषयमा दोधारमा छन्।

वर्षातका कारण बन्द भएको उद्योग कात्तिकमा सञ्चालनमा ल्याउने हो भने दुई सय ५० कामदारका लागि करिब एक करोड रूपैयाँ पेश्की अग्रिम दिनुपर्ने हुन्छ।

यदि अहिले नै कामदार खोज्ने ठेकेदारलाई पेश्की दिएन भने पछि कामदार पाउन समस्या हुने जनाइएको छ। इँटा बिक्री नहुँदा अहिले पेश्की पनि दिन नसकेको व्यवस्थापक बुढाथोकीले बताए।

उनले भने, ‘देशमा आर्थिक मन्दीका कारण मान्छेले घर निर्माण गरेका छैनन्। आर्थिक मन्दीका कारण मान्छेले घर कम बनाएपछि त इँटा बिक्री हुने कुरै भएन। घाटामा उद्योग चलाउने कुरा भएन सकभर आउने वर्षदेखि उद्योग बन्द हुन्छ होला।’

त्यसैगरी अर्को क्यापिटल ब्रिक इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित इँटा उद्योगको पनि २० लाख इँटा बिक्री नभएर मौज्दात छ।

बिक्री नभएर यति धेरै इँटा मौज्दात रहेको क्यापिटलको पहिलो अनुभव हो। वर्षातकाे समयमा बन्द भएको इँटा उद्योग अब हिउँदमा कसरी सञ्चालन गर्ने विषयमा चिन्ता छ।

क्यापिटल ब्रिक इन्डस्ट्रिजका व्यवस्थापक हरिचन्द्र बिडारीका अनुसार ५० रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ। जग्गाको भाडामात्र वार्षिक २० लाख रूपैयाँ तिर्नुपर्ने हुन्छ।

उनले भने, ‘करोडौँ खर्च गरेर भट्टा सञ्चालन गरेर इँटा उत्पादन गरेपनि बिक्री नहुँदा अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता छ।’

व्यवस्थापक बिडारीका अनुसार हाल ढुवानीसहित एक केजी कोइलालाई ५० रूपैयाँ पर्न जान्छ। छ लाख इँटा तयार गर्नका लागि २५ टन कोइला प्रयोग गर्नुपर्ने हुन्छ।

उनले भने, ‘कोइलाको महँगी र कामदारको ज्यालालगायत सबै जोड्दा इँटा उद्योग सञ्चालन गर्न जटिल र खर्चिलो छ। उत्पादन भएको इँटा बिक्री भए त ठीकै हुन्थ्यो तर इँटा नै बिक्री हुँदैन।’

बुङ्मती क्षेत्रमा सञ्चालित इँटाभट्टामा ‘सिजनअनुसार करिब दुई हजार बढीले रोजगार पाएका छन्। अहिले वर्षात्का कारण उद्योग बन्द भएकाले सबै कामदार घर फर्केका छन्। आर्थिक अभावका कारण उद्योग बन्द भएमा सयौँले रोजगार गुमाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *