८० प्रतिशत काम सकिएपछि राेकियाे सडकको बजेट

भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको अन्तिम चरणमा पुग्दै गर्दा सरकारले योजनामा नै राखेको छैन । उनले भने, ‘एउटा ठेक्का ९७ प्रतिशत र अर्को ठेक्का ७० प्रतिशत सकिएको छ, तर सरकारले यो आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छैन ।’

योजनामा नपरेपछि सडक विभागमा आफूले पत्राचार गरेको उनले बताए । बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म लागेको थियो ।

पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउनका लागि ठेक्का गरिएको भए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर चार लेन निर्माण गरिएको हो ।

यो ठेक्काको काम ९७ प्रतिशत सकिएको छ । गौरी पार्वती निर्माण सेवासँग १२ करोड रूपैयाँमा ठेक्का सम्झौता भइ काम भइरहेको छ । अहिले यो सडक सम्पन्न हुन केहीमात्रै बाँकी रहेको उनले बताए ।

उनका अनुसार रायमाझी पशुपति जेभीले ठेक्का सम्झौता गरेर काम गर्दै आएको दोस्रो ठेक्काको कामसमेत ७० प्रतिशत सकिएको छ । मङ्सिर महिनाभित्र पूर्णरूपमा सम्पन्न गर्ने गरी काम भइरहेको सो ठेक्काका लागि २९ करोड रूपैयाँमा सम्झौता भएको थियो । अहिले फुटपाथ निर्माणको काम भइरहेको भए पनि बजेट नहुँदा कार्य पूरा गर्न कठिन भएको उनले बताए ।

उनले भने, ‘ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेका छन्, कार्यालयसँग बजेट छैन ।’ सम्झौताअनुसार निकासा दिनुपर्ने बजेटसमेत निकासा दिन नसकिएको उनले बताए । यो सडक गत आर्थिक वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा बजेटको कठिनाइका कारण काम हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर