नुवाकोटको ककनीमा जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूकाे स्मरण
थाइ एयरवेजको जहाज दुर्घटनामा ज्यान गुमाउने १ सय १३ जनाको सम्झनामा आज ३१औं स्मृति दिवस मनाइएको छ। उनीहरूको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल पार्क’मा वृक्षरोपणसहित उनीहरूको सम्झना गरिएको हो।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना, सशस्त्र प्रहरी बल यूएन तालिम शिक्षालय, ककनीको सहकार्य, शिवपुरी नागार्जुन निकुञ्ज क्षेत्र व्यवस्थापन समिति ककनी ओखरपौवाको समन्वय र ककनी गाउँपालिका नुवाकोटको सहजीकरण आज बिहान वृक्षरोपण गरिएको हो।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेसहित १ सय १३ जनाले आजकै दिन थाइ ‘एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउनुभएको थियो,’ इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले भने, ‘उहाँहरूकै स्मृतिमा आज यहाँ वृक्षरोपण गरिएको हो।’ उक्त दुर्घटनाको ३१औं स्मृति दिवस पारेर यहाँ ३१ वटा विरुवा रोपिएको छ।
इन्सेकका संस्थापक महासचिव काफ्लेले मानव अधिकार संरक्षण मञ्च स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै राजबन्दी बिमोचन समितिको गठनमा पनि उनको महत्वपूर्ण भूमिका रहेको डा. अर्यालले बताए।
‘संस्थापक महासचिव काफ्लेले मानव अधिकारको रक्षा र विकास जनताको सचेत जागरण र संगिठत आवाजबाट मात्र सम्भव छ भन्नुहुन्थ्यो। जसलाई इन्सेकले सदैव अनुशरण गर्दै आएको छ,’ उनले भने।
उनले नेपालको हवाई सुरक्षा, व्यक्तिको सम्झना तथा पार्क व्यवस्थापनका लागि स्मृति दिवसको अवसरमा वृक्षरोपण गर्दै पार्क संरक्षणका लागि इन्सेकले पहलकदमी लिएको जानकारी पनि दिए।
विसं २०४९ साउन १६ गते शुक्रबार (सन् १९९२ जुलाई ३१) मा थाइल्यान्डको बैंककस्थित डोन मुएङ्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको थाइ एयरवेजको ‘एयरवस–३११’ नुवाकोटको घ्याङ्फेदीमा दुर्घटना भएको थियो। यसमा सवार चालकदलका १४ सहित ९९ यात्रुको मृत्यु भएको थियो। उक्त विमान दुर्घटना नेपालको हवाई दुर्घटनाको इतिहासमा सबैभन्दा ठूलोमध्येको एउटा मानिन्छ।
जहाज दुर्घटनामा व्यवसायी काफ्लेसहित आङदोर्जे लामा र उनकी श्रीमति पासाङ फुटी लामा, मार्टिन होफटुन तथा जाइकाका टेक्निसियनलगायतले ज्यान गुमाएका थिए।
आङदोर्जे लामा त्यस समय राजधानी साप्ताहिक पत्रिका, शेर्पा सेवा केन्द्र, गर्जनढुंगा विद्यालय र गौरिशंकर क्याम्पसको पनि संस्थापक थिए। उनी पञ्चायत विरोधी आन्दोलनमा सक्रिय थिए। साथै, जहाज दुर्घटनामा नर्वेजियन अध्येता मार्टिन होफटुनको पनि ज्यान गएको थियो। उनको स्मृतिमा एक समूहले काठमाडौंमा मार्टिन चौतारी नामक संस्था समेत सञ्चालनमा ल्याएको छ।
पार्क व्यवस्थापनको चिन्ता
जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्माण गरिएको थाई मेमोरियल पार्क पछिल्लो समय अलपत्र अवस्थामा छ। थाइ एयरवेजले उनीहरूको सम्झनामा पार्क निर्माणसँगै व्यवस्थापनको काम समेत गर्दै आएको थियो। तर, थाइ एयरवेजले नेपालस्थित कार्यालय बन्द गरेपछि पार्क पनि अलपत्र हुन पुगेको देखिएको छ।
करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कभित्रै विमान दुर्घटनाका सबैको शव व्यवस्थापन गरिएको छ। हरेक वर्ष स्मृति दिवसका अवसरमा आफन्तले श्रद्धाञ्जली दिने गरे पनि पछिल्लो समय भने पार्क व्यवस्थापनको जिम्मा कसैले लिएको छैन।
‘२५ वर्षसम्म थाइ एयरवेजले यसको राम्रोसँग व्यवस्थापन गरेको थियो, तर अहिले अलपत्र अवस्थामा छ,’ आङदोर्जे लामाका कान्छा छोरा निमा दोर्जे लामाले भने, ‘पार्क व्यवस्थापनका लागि अक्षयकोष स्थापनाका लागि पहल भइरहेको छ।’
उनका अनुसार लामो समयदेखि अलपत्र पार्क व्यवस्थापन गर्न गत आर्थिक वर्षमा ककनी गाउँपालिका वडा नं ५ ले रु एक लाख बजेट उपलब्ध गराएको थियो। साथै आङदोर्जेका जेठा छोरा पासाङ दोर्जे लामाले अपुग ४० हजार रुपैयाँ सहयोग गरेका थिए।
‘पार्कको दीर्घकालीन संरक्षण र सम्वर्द्धनका लागि न्यूनतम १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी वार्षिक नौ प्रतिशतका दरले ब्याज आम्दानी अनुमानित १ लाख ३५ हजार तथा स्थानीय वडा कार्यालयको नियमित बजेटबाट १ लाख रुपैयाँ गरी जम्मा वार्षिक २ लाख ३५ हजार रुपैयाँ बजेट जुटाउन सकेको खण्डमा पार्क व्यवस्थापन गर्न सहज हुने थियो,’ निमा दोर्जे लामाले भने।
उक्त बजेट जुटाउन सके कर्मचारीको तलब, मल तथा फूल विरुवा मर्मतसम्भारका लागि पनि सहज हुने उनको भनाइ छ। यसका लागि पहल भइरहेको जानकारी पनि उनले दिए।
अक्षय कोष स्थापनाका लागि दाई पासाङ दोर्जे लामाले २ लाख रुपैयाँ सहयोग गर्ने वचन दिइसकेको निमा दोर्जे लामाले जानकारी दिए। ‘पार्क व्यवस्थापनमा सबैले चासो दिनुभएको छ, पछिल्लो समय यहाँ रेस्टुरेन्ट तथा क्यान्टिन पनि खोल्ने कुरा चलिरहेको पायौं,’ लामाले भने, ‘सशस्त्र प्रहरी बल पनि नजिकै भएकाले उहाँहरूले व्यवस्थापनको जिम्मा लिनुभयो भने राम्रो हुन्थ्यो भन्ने हामी सबैको चाहना हो।’
लामाले सरोकारवाला सबैलाई अक्षय कोष स्थापनाका लागि सक्रिय हुन र अभियानमा सहभागी हुन आह्वानसमेत गरे। ‘हाल वार्षिक २०/२२ परिवार श्रद्धाञ्जलीका लागि आउने गरेको पाइएको छ, सबैको प्रयास भए अन्य परिवारका सदस्य खोजी गरी अभियानलाई सफल बनाउन सकिन्छ,’ उनले भने।
प्रतिक्रिया