फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइँदै, लागत एक अर्ब

नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत आयोजना फर्पिङ जलविद्युत केन्द्रलाई उर्जा संग्रहालयका रूपमा विकास गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरणले ५ सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युतलाई उर्जा संग्रहालय बनाउने भएको हो।

यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ।

ऐतिहासिक जलविद्यत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणको भनाइ छ।

काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जीप लाइन, पिकनिक स्पट, पुस्तकालय, बालउद्यानलगायतका संरचना निर्माण गरिने छन्।

जलविद्युत केन्द्रका संरचनालाई जीर्णोद्वार गरी संग्रहालयका रूपमा विकास गर्ने योजना छ। परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

केन्द्रको स्वामित्वमा ३ सय २४ रोपनी जग्गा छ। पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ।

प्राधिकरणको ३८औं वार्षिकोत्सवमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो।

मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतगृहलगायतका संरचनाका अवस्थाबारे अवलोकन गरेका थिए।

मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत केन्द्रलाई संरक्षण गरी जलविद्युत क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रूपमा विकास गरिनुपर्ने बताए।

उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिए। ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत क्षेत्रको अध्ययनस्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्ने बताए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीयस्थलका रूपमा विकासका कार्य अगाडि बढाइने उल्लेख गरे।

फर्पिङ जलविद्युत केन्द १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत केन्द्रबाट राजपरिवार, राणापरिवारलगायतमा विद्युत वितरण गरिएको थियो।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो। करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो। तर, त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो। केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *