दाँत कोट्याउने सिन्कादेखि सियोसम्मको आयातमा बाहिरिन्छ करोडौं रकम

अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादनबिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर, हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ ।

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ ।

पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा एक करोड रूपैयाँभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ ।

विभागका अनुसार गत आवमा एक करोड १३ लाख ३७ हजार रूपैयाँ मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको छ ।

त्यस्तै करिब एक करोड रूपैयाँ बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आवमा दुई करोड पाँच लाख ४९ हजार रूपैयाँ मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ ।

दुई करोडको सियो र सेफ्टी पिन आयात
विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोड रूपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

गत आवमा एक करोड ७३ लाख ९१ हजार रूपैयाँको सेफ्टी पिन र ६३ लाख १० हजार रूपैयाँ मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार रूपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात
विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बाैं रकम मुलुकबाट बाहिरिरहेको छ ।

सार्वजनिक विवरणअनुसार गत आवमा एक अर्ब रूपैयाँभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् ।

एक वर्षमा एक अर्ब २६ करोड ५४ लाख रूपैयाँभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको नट आयात भएको छ ।

विभागका अनुसार गत आवमा १५ कारोड ८५ लाख रूपैयाँ बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *