भोजपुरको पाँचधारे पोखरी र किरातेश्वर ढुंगे बगैंचाको संरक्षण गरिँदै

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । एकीकृत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संरक्षण थालिएको हो ।

विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरी र किरातेश्वर ढुङ्गे बगैँचालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्यका साथ संरक्षण गर्न थालिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । यस वर्ष केन्द्र सरकारअन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि २० लाख रूपैयाँका दरले बजेट विनियोजन भएको उनले जानकारी दिए ।

‘पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पोखरीको संरक्षण गरिरहेका छौँ,’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘यस क्षेत्रको विकासका लागि केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माणमा सहयोग पुग्नेछ ।’ पोखरीको ऐतिहासिक स्वरूपलाई यथावत राख्दै नयाँ संरचना निर्माण गरिने उनको भनाइ छ ।

पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना बनाइएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । ‘यो क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकासका लागि काम गरिरहेका छौँ,’ उनले भने, ‘किरातेश्वर ढुङ्गे बगैँचा गुफाको संरक्षणका लागि यस वर्ष काम गर्ने योजना छ । यहाँ आउने पर्यटकले दुई स्थानको एकैसाथ अवलोकन गरेर आनन्द लिन सकून् भन्ने हाम्रो लक्ष्य छ ।’

बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बाबुराम शाक्यले बताए । यहाँको पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको उनको भनाइ छ । ‘पाँचधारे एक ऐतिहासिक महत्त्व बोकेको धार्मिकस्थल हो,’ शाक्यले भने, ‘यहाँ दर्शन गरे चिताएको पुग्ने धार्मिक विश्वास छ । यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसके आर्थिक उपार्जन बढ्ने देखिन्छ ।’ उनका अनुसार यस पोखरीमा किरात समुदायका वान्तावा माङ्गपाहाङ्ग राईहरूले वंशावली भेला भएर पूजाआजा गर्ने गर्दछन् ।

पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको स्थानीय जानकार अधिराज राईले बताए । यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको उनको भनाइ थियो । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् ।

‘किरातमा यो पोखरीप्रति आस्था छ,’ राईले भने, ‘स्थानीय सरकारको पहलमा संरक्षण भएपछि हामीमा उत्साह थपिएको छ । पोखरीको अवलोकन तथा दर्शन गर्न विभिन्न ठाउँबाट मानिस यहाँ आउने गरेका छन् ।’

विगतमा यस पोखरीको नाममा टेम्केमैयुङ-५, खावा केराबारीमा ८० मुरी धान फल्ने गुठी रहे पनि अहिले त्यो हराएको उनले जानकारी दिए । पोखरीको गुठीका रुपमा रहेको जग्गा खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने स्थानीय टङ्क घिमिरेले बताए ।

सरकारको एक सय घुम्नैपर्ने गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकामा रहेकाले यसले पनि पर्यटकको आवागमनमा थप टेवा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । पालिकाले पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।

‘यहाँका पर्यटकीय क्षेत्रको विकास गर्दै गाउँपालिकाको आयवृद्धि गर्ने योजनाका साथ काम गरिरहेको छौँ,’ प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘पर्यटकीय क्षेत्रको विकासले स्थानीयको सहज जीवनयापनमा समेत टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो । यस्ता ठाउँको संरक्षणसँगै प्रचारप्रसारमा पनि ध्यान दिएका छौँ ।’

टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीयस्थल रहेकाले त्यस्ता क्षेत्रको संरक्षण गर्दै विकासमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । ‘हाम्रो गाउँपालिका प्राकृतिक स्रोतसाधनको क्षेत्रबाट निकै धनी छ,’ उनले भनिन्, ‘भौगोलिक रूपमा ठूलो रहेकाले सबै ठाउँमा सोचेअनुसार बजेट विनियोजन गर्न सकिएको छैन । प्रदेश र केन्द्र सरकारसँग योजना माग गरेर पर्यटकीय महत्त्व भएका क्षेत्रको विकासमा जुटेका छौँ ।’

पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । ‘पर्यटन क्षेत्रका साथै पालिकाभित्र रहेका सबै सम्भावित क्षेत्रको योजनाबद्धरुपमा विकास थालनी गरेका छौँ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रशस्त हरियाली चरन क्षेत्र छन् । यस्ता ठाउँको स्तरोन्नति गर्दै स्थानीयलाई कृषि तथा पशुपालनमा जोड्ने योजना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *