बागलुङमा जंगलमा सडेको अवस्थामा भेटियो एक जनाको शव

बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको निसीखोला गाउँपालिका-६, पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए। शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उनको भनाइ छ।

पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो।

‘शव कङ्काल बनिसकेको छ। धेरै दिन अगाडि मृत्यु भएको हुन सक्छ। शरीर कुहिएको अवस्थामा हड्डी मात्रै बाँकी रहेको हुँदा को व्यक्ति हो पहिचान गर्न सकिएको छैन,’ प्रहरी निरीक्षक शर्माले भने, ‘जिल्ला मातहतका प्रहरी चौकीमा खबर गरेका छौँ। छिमेकी जिल्ला रोल्पा र रूकुममा पनि जानकारी गराएका छौँ। तर, अहिलेसम्म कुनै मानिस हराएको निवेदन नपरेको छैन।’

शर्माले कुनै व्यक्ति हराएको भए प्रहरीमा खबर गर्नसमेत आग्रह गरे। मृतकले लगाएका कपडा सहज रूपमा चिन्न सकिने हुँदा त्यसबाट पनि पहिचान गर्न सकिने उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर