नेपालमा ५१ करोड रुपैयाँको कोदो आयात

मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।

यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार रुपैयाँ मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा १९ करोड ८३ लाख रुपैयाँको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा ३१ करोड ९८ लाख रुपैयाँ बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार रुपैयाँको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए ।

पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजार रुपैयाँको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार रुपैयाँ बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, दुई करोड ७१ लाख ५२ हजार रुपैयाँको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, चार करोड ९८ लाखको तीन हजार रुपैयाँ बराबरको एक सय १३ मेट्रिक टन लौका, तीन करोड १० लाख रुपैयाँ बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र तीन करोड ४० लाख ९६ हजार रुपैयाँको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्याङ्क छ ।

सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा ४४ लाख ८० हजार रुपैयाँको एक सय १२ मेट्रिक टन फापर, छ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र ३४ लाख रुपैयाँको पानको पात भारतबाट आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा १७ करोड ३१ लाख २० हजार रुपैयाँको चार हजार तीन सय २८ मेट्रिक टन चामल र १७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात गरिएको छ । तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार रुपैयाँको फलफूल आयात गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *