भीमसेन थापाले मुलुकलाई ठूलो गुन लगाउनुभएको छ : कावा प्रधानमन्त्री खड्का

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठूलो गुन लगाएको बताएका छन्।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको बताए।

कावा प्रधानमन्त्री खड्काले भने, ‘थापाको शासनकालमा सेना, कानून, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो। सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो।’

पूर्वजले सुरू गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गरेको उनले बताए। ‘परिस्थितिवस मुलुकमा आउने अप्ठेरोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सिमालाई स्थायित्व दिनुभयो,’ कावा प्रधानमन्त्री खड्काले भने।

तत्कालीन सामाजिक रूपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गरेको, समाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गरेको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवथापन गरेको उनले स्मरण गरे।

जग्गा अभिलेख राख्ने बन्दोबस्त पनि उनकै शासनकालमा प्रारम्भ भएको उल्लेख गर्दै कावा प्रधानमन्त्री खड्काले समाजमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक प्रबन्ध गरेको कार्य प्रेरणाको स्रोत भएको बताए।

भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुललगायत भौतिक र ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उनले समाज सुधार र विकास प्रेमी कामबाट आफूहरू प्रेरित भएको सुनाए।

ऐतिहासिक काम र शासकीय सुधारका सम्बन्धमा भीमसेन थापाले गरेको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले यसबाट वर्तमान सरकार पे्ररित रहेको बताए।

‘दुभाग्यबस उहाँ सत्ता षडयन्त्रको शिकार हुनुभयो, झुटा आरोप सहन नसकी उहाँले जीवन स्वयं त्याग्ने बाटो रोज्नुभयो,’ कावा प्रधानमन्त्रीले भने।

भीमसेन थापाको सच्चा सम्मानका लागि उनले देखेका सपना पूरा गर्न सकेन र राष्ट्रियता सुशासन र आर्थिक सामाजिक रूपान्तरणका पक्षमा अहोरात्र खटियौँ भने मात्र उनीप्रति सच्च श्रद्धाञ्जली हुने कावा प्रधानमन्त्री खड्काले थापाको धारणा थियोे।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एक हजार एक सय ११ रूपैयाँ नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिभेश्वरप्रसाद तिमिल्सिना, सम्मानित संस्था केन्द्रका संस्थापक डा महावीर पुन, प्रतिष्ठानका सचिव लक्ष्मण थापालगायतले भीमसेन थापाको योगदानबारे चर्चा गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर