भारत भ्रमणमा रहेका माओवादी नेताहरू राजनीतिक भेटवार्तामा व्यस्त

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ६ दिने भारत भ्रमणमा रहेका नेपालको सत्तारूढ दल नेकपा (माओवादी) केन्द्रका नेताहरू राजनीतिक भेटवार्तामा व्यस्त भएका छन्।

आइतबार उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली प्रस्थान गरेका माओवादी केन्द्रका पाँच जना नेताहरू राजनीतिक भेटवार्तामा व्यस्त बनेका हुन्।

उपाध्यक्ष भुसाल नेतृत्वको माओवादी प्रतिनिधिमण्डलमा पार्टीका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राई छन्।

भ्रमणको पहिलो दिन आइतबार उनीहरूले भाजपाको पार्टी मुख्यालय भ्रमण गरेका थिए। त्यस क्रममा उनीहरूले भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसहितका नेतासँग भेटघाट तथा अन्तर्क्रिया गरे।

त्यहाँ उनीहरूलाई भाजपाको ऐतिहासिक यात्राको बारेमा छोटो वृत्तचित्र पनि देखाइएको थियो।

यस्तै भ्रमणको दोस्रो दिन सोमबार उनीहरूसँग भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्ष तथा राज्यसभा सांसद दर्शना सिंह, भाजपा महिला मोर्चाकी सदस्य टिना बेन्टिकले भेटवर्ता गरे। त्यस क्रममा माओवादी नेताहरूलाई उनीहरूले भाजपा महिला मोर्चाको इतिहासबारे जानकारी गराएका थिए।

पोषण अभियान, स्नेह यात्रा, महिला लाभार्थीसँग १ करोड सेल्फीजस्ता कार्यक्रमबारे पनि उनीहरूबीच छलफल भएको थियो।

यस्तै सोमबार नै उनीहरूसँग भारतीय जनता युवा मोर्चा (बीजेवाईएम) का अध्यक्षसहितका नेताहरूले पनि भेटवार्ता गरे।

बीजेवाईएमका नेताहरूले भारतीय राजनीतिमा भारतीय युवाहरूको भूमिकाबारे माओवादी नेताहरूलाई प्रकाश पारे।

छलफलका क्रममा बीजेवाईएमका नेताहरूले युवाहरूलाई राजनीतिमा सक्रिय रूपमा संलग्न गराउन बीजेवाईएमको चासो, नीति संवाद र अन्य पहलहरूबारे माओवादी नेताहरूलाई जानकारी गराएका थिए।

यस्तै साेमबार नै उनीहरूले भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गरेका छन्। भेटमा  दुई पार्टीबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर