काठमाडौं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरू गरेको छ। काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरूवात गरेका हुन्।

गाडी पूर्ण रूपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरू गरिएको पोरखेलले बताए।

सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरूवात गरिएको उनले बताए।

मादक तथा र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुव्र्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा/नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ।

सो क्रममा बस बिसौनीबाट मात्र गाडी चढौंँ, सवारी साधनमा हुने पकेटमारीबाट बचौंँ, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौँं लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको थियो।

ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ। यात्रुको आवतजावत बढी हुने स्थान काठमाडौँका न्यूरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर तथा भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर