गैंडा मारेको अभियोगमा तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ ।

निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । उनीहरूलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका-१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारू रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उनका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा उनीहरूलाई पकाउ गरिएको थियो ।

पक्राउ परेका तीनै जनाविरूद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरीशिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिए ।

निकुञ्जका अनुसार उनीहरूले वि. सं. २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *