देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने संकल्प छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन्।
‘इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाटमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ। जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’
सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गरे। प्रधानमन्त्रीले भने, ‘आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। आ-आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु।’
विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रवद्र्धनमा लाग्न प्रधानमन्त्रीले विशेष आग्रह गरे।
प्रधानमन्त्रीले भने, ‘विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ। आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ। त्यसैले विश्वमा रहेका सबै नागरिकले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन्।’
नेपाली र नेपालको पनि विश्वमा विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो। विश्वको एक तिहाइभन्दा बढी जनसङ्ख्याको आस्थाका धरोहर गौतमबुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ। विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ।’
प्रधानमन्त्रीले पुनः जोड दिएर भने, ‘हामी एकपटकको नेपाली सधैँका नेपाली हौँ। तपाईं हामी जहाँ र जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो। विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ।’
इन्ट्रा-नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारप्रति नेपाली भाषा र कलाको प्रवर्द्धनमा लागेकामा प्रधानमन्त्रीले खुसी व्यक्त गरे।
विश्वका प्रतिभालाई जम्मा गरेर नेपाली भाषामा गायन तथा नेपाली संस्कृतिको नृत्य प्रतियोगिताको आयोजना गरी कलाकारलाई नेपालसम्म ल्याई यो स्तरको कार्यक्रम सम्पन्न गर्न लागेकामा प्रधानमन्त्रीले आयोजक संस्थालाई धन्यवाद दिए।
प्रधानमन्त्रीले भने, ‘मलाई लाग्छ, यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलोपटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान्। त्यसैले विदेशी भूमिमा रहेर पनि नेपालप्रतिको यस्तो महान् कार्य सम्पन्न गरेकामा आयोजक संस्थालाई म आभार व्यक्त गर्दछु।’
प्रतिक्रिया