रौतहटमा आमा-छोरी मृत फेला

रौतहटको मौलापुर गाउँपालिका-४, पतौरामा आमा-छोरी मृत फेला परेका छन्। पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरूही गएराति घरमै मृत परेका हुन्।

आरूहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताए। उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन्। कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। उनको माइतीघर माधवनारायण नगरपालिका-५ मिठुअवा गाउँ हो। कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए। उनका अनुसार छोरी र ज्वाइँबीच पटक-पटक विवाद हुने गरेको थियो।

‘बेलाबेलामा कविताले ज्वाइँ धीरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन्। दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो,’ साहको आरोप छ।

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *