प्रथम महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राममायालाई

सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा भएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छन्।

उनले एक घन्टा २६ मिनेट नौ सेकेन्डमा २१ किलोमिटर दूरी पार गर्दै उपाधि उचालेकी हुन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकको रङ्गशालाबाट सुरू भएको म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रूट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सीतापाइला, कारखानाचोक भई पुनः हल्चोक रङ्गशाला आएर समापन भएको थियो।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राममायाले एक लाख रूपैयाँ प्राप्त गरिन्। दोस्रो हुने नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले एक घन्टा २७ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गरी ७५ हजार तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबकी पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घन्टा २७ मिनेट ५० सेकेन्डमा पार गरी ५० हजार रूपैयाँ पुरस्कार जिते।

चौथो हुने नेपाल एपीएफ क्लबकी आशा राउतले एक घन्टा ३२ मिनेट १८ सेकेन्डमा पार गरी २५ हजार र पाँचौँ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले एक घन्टा ३२ मिनेट २८ सेकेन्डमा पार गर्दै १५ हजार प्राप्त गरे। उपाधि हासिल गर्ने धाविकाहरूलाई आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ।

प्रतियोगितमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय तथा देशैभरका महिला धाविका गरी कुल ४२ महिलाको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *