चिनियाँ धनाढ्य ज्याक मा नेपाल भ्रमणमा
चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आइपुगेका छन्। उनी मंगलबार दिउँसो हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
बंगलादेशको ढाकाबाट ज्याक मासहित पाँच जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।
ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइए पनि काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन। यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।
चीनको ह्वाङझाउमा जन्मिएका ज्याक माले शिक्षण पेशा छाडेपछि सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गरेका थिए। १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरले अलिबाबा ग्रुप स्थापना भएको थियो। जसले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गर्थ्यो। ‘चीनको अमेजन’ को रूपमा चिनिएको उक्त कम्पनीको हाल १ खर्ब डलरभन्दा माथिको बजार मूल्य पुगिसकेको छ।
२०२० मा भने ज्याक मा सरकारको आलोचना गरेपछि एकाएक सार्वजनिक जीवनबाट हराएर नोभेम्बरमा जापानको राजधानी टोकियोमा देखा परेका थिए। सन् २०२० मा चिनियाँ सरकारले सुरू गरेको प्रविधि क्षेत्रमाथिको नियमन प्रयासको आलोचना गरेपछि उनी रहस्यमय रूपमा सार्वजनिक जीवनबाट हराएका थिए।
ज्याक मा पछिल्लो समय व्यवसायसँगै प्रेरणादायी मन्तव्य दिने उद्यमीको रूपमा पनि चिनिएका छन्। उनले विभिन्न शहरमा युवाहरूलाई दिएका प्रवचन विश्वभर चर्चामा छन्।
प्रतिक्रिया