मोबाइलकाे प्रयोगले बालबालिकामा देखिन्छन् यस्ता समस्या

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउँछन्। बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक-पटक ब्युँझिने जस्ता समस्या हुने बताउँदै उनले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गरे।

यसैगरी बालबालिकाका आमा र बुवा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउनसमेत उनकाे आग्रह छ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा खाइरहेको छु भनेर थाहा नपाउने हुँदा पोषणसम्बन्धी समस्या र पाचन प्रणालीमा समस्यासमेत देखिन सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले खाना खुवाउँदा अभिभावकले बालबालिकासँग कुराकानी गरेर डुलेर, गीत गाएर वा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन आग्रह गरेको छ।

यसैगरी मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेजस्ता समस्या देखिन सक्ने बताइएको छ।

यस्तै बच्चा ठूलो भएपछि झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने समस्या बढ्नाका साथै सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्जालोले निद्रा लाग्ने हार्मोन उत्सर्जनमा समस्या हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *