लिभिङ टुगेदर, अपार्टमेन्टमा बास, अष्ट्रेलिया जान शृंखलाबद्ध चोरी

काठमाडौं उपत्यकामा आपसमा मिलेर शृंखलाबद्ध चोरी गरेको आरोपमा प्रेमी-प्रेमिका पक्राउ परेका छन्। काठमाडौँ र ललितपुरका आईटी पसल र अफिसमा दिनभर रेकी गरेर रातभर चोरी गरेको आरोपमा ३९ वर्षीय सुबोध श्रेष्ठ र उनकी प्रेमिका १९ वर्षीया रोशनी महर्जन पक्राउ परेका हुन् ।

सुबोध र रोशनी रविभवन स्थित सोल्टी सिटी अपार्टमेन्टको आठौँ तलामा बस्दै आएका थिए । चोरी गरेरै अस्ट्रेलिया जाने सपना अँगालेका उनीहरू डेढ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका थिए । पछिल्लो एक वर्षदेखि उनीसँगै रोशनी ‘लिभिङ टुगेदर’ थिइन् ।

२०७८ जेठ २८ मा राति ललितपुर महानगरपालिका-९ मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिंक टेक्नोलोजीमा चोरी भएको थियो । सो चोरी अनुसन्धान गर्दै जाँदा सुबोध र रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले जानकारी दिए । आरोपितहरूविरूद्ध ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए ।

सुबोधले ग्लोबल लिंक टेक्नोलोजीको झ्याल फुटाएर काउन्टरबाट १ लाख ८ हजार नगद, कम्पनीको सीईओको कोठाबाट ३७ हजार नगद र डेल कम्पनीको ल्यापटप चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ। अनुसन्धानबाट रोशनी पनि चोरीमा संलग्न रहेको भेटिएको छ।

सुबोधले ज्ञानेश्वरबाट ३२ वटा ल्यापटप र पुतलीसडक स्थित ‘आई टिम प्रालि’ मा पनि चोरी गरेको अनुसन्धानमा संलग्न अधिकृतले बताए । प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *