नेपाल भित्रियो ‘रमडा’ : इटहरीमा पाँच तारे होटल सञ्चालनमा ल्याउँदै
विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’ को रूपमा सञ्चालनमा आउने भएको हो ।
रमडाको मातृ कम्पनी विंडहाम होटलस् एण्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतबीच भारतको दिल्लीमा शुक्रबार होटल सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्रवर्द्धन र होटल व्यवसायको प्रवर्द्धनमा रमडाकाे उपस्थिती नयाँ खुड्किलो भएको बताएका छन् ।
उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताए । उनले विंडहाम होटेल्स कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन् ।
कार्यक्रममा बोल्दै विंडहाम होटल्स एण्ड रिसोर्ट युरेसियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले समेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्यता दिने बताए ।
यस्तो हुनेछ होटल
निर्माणाधीन पाँच तारे होटलमा कुल ८ तला छन् भने ८० वटा कोठा रहेका छन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल लगायतका सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरूका लागि समेत कोठाहरू व्यवस्थापन गरिनेछन् ।
भारतीय सीमा जोगवनी तथा विराटनगर एयरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरूलाई विश्वस्तरीय होटलको सुविधा दिने दाबी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीहरूलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ ।
होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।
के हो रमडा ?
विंडहाम होटल्स एण्ड रिसोर्ट्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनी मानिन्छ । यो अमेरिकी कम्पनीले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एशियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ ।
होटल व्यवसायमा अघि बढ्दै बस्नेत
नेपालमा एकपछि अर्को स्टार तथा अन्तर्राष्ट्रियस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइरहेका बस्नेतले हालै मात्र काठमाडौंमा निर्माणाधीन पाँच तारे होटलमा एक्कोर समूहको मर्क्योर ब्राण्ड भित्र्याएका थिए । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रूपमा नेपालको पर्यटन विकासमा व्यवसायीहरूको संस्थागत नेतृत्व गरिरहेका छन् ।
यस्तै उनले पर्यटकीय एवं धार्मिकस्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारेस्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोवर होटल्स एण्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् ।
पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियोअन्तर्गत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।
प्रतिक्रिया