खेलकुद मन्त्रालयद्वारा चार पत्रकारसहित १४ जनालाई सम्मान

युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ। राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन्।

राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेमा कृषितर्फ हीराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरूलाल डंगौरा, युवा सशक्तीकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन प्रवर्द्धन र समाज सेवातर्फ बी बीएल राइज फाउण्डेशन, पर्यटन प्रवर्द्धनतर्फ सिर्जना ओली, समाज सेवातर्फ शौरभ रिमाल, विज्ञान तथा प्रविधितर्फ दीपेन्द्र नेपाली तथा स्वास्थ्यतर्फ डा. राम थापा क्षेत्री रहेका छन्। पुरस्कारको राशि जनही एक लाख रूपैयाँ रहेको छ।

यसैगरी सम्मानित हुने सञ्चारकर्मीमा विनोद घिमिरे (दाङ), मेनुका ढुङ्गाना (अछाम), प्रकाश सिंह (बाजुरा) र केशरबहादुर रोका (प्युठान) रहेका छन्। युवा पत्रकारिता पुरस्कारको राशि जनही ५० हजार रूपैयाँ रहेको छ।

सम्मानित भएकाहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सम्मानपत्र वितरण गरेका थिए।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यलगायतको सहभागिता थियो। मन्त्रालयले हरेक वर्ष देशभरबाट पत्रकार तथा अन्य प्रतिभा छनोट गरेर सम्मान गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर