मन्त्री बनेको एक महिनामै पत्नी र भाउजूसहित सवारी दुर्घटनामा अस्ताए सिंह

गत ६ जेठमा नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भए।

लामो रस्साकस्सीपछि गठबन्धनमा आबद्ध दलहरूबीच भागबण्डा मिलाएर विस्तारित मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट सिंहसँगै माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकासमन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बने।

सिंहसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सोही दिन शपथ पनि लिएका थिए। तर दुर्भाग्य, तिनै मन्त्री पृथ्वीबहादुर सिंहको मन्त्री नियुक्त भएको एक महिनामै सवारी दुर्घटनामा मृत्यु भएको छ।

उनको आफ्नै गृहजिल्ला बझाङमा मंगलबार गाडी दुर्घटनामा परेर मृत्यु भएको हो। उनीसहित दुर्घटनामा उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको छ।

उनकी श्रीमती र भाउजूको बझाङ देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो। तर, मन्त्री सिंहको भने बाँकको नेपालगञ्जमा मृत्यु भएको हो।

मन्त्री सिंहलाई चिन्ताजनक अवस्थामा थप उपचारका लागि हेलिकोप्टरर्फत मेडिकल कलेज कोहलपुरमा लगिएको थियो। उनलाई उपचारका क्रममा मंगलबार अपराह्न चिकित्सकले मृत घोषणा गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए।

दुर्घटनामा परेर घाइते मन्त्री सिंहसँगै कोहलपुर लगिएका अन्य दुई जनाको भने उपचार जारी छ। मन्त्री सिंहका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको उपचार भइरहेको हो।

मन्त्री सिंहको मृत्युसँगै बझाङ जिल्लाले वर्षौंपछि पाएको पहिलो मन्त्री गुमाएको छ। संघीयतापछि प्रदेश र संघमै बझाङबाट कोही पनि मन्त्री भएका थिएनन्।

मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो।

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

सिंह गत वर्ष मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट उनी निर्वाचित भएका थिए।

२०१५ साल माघ १७ गते बझाङको तत्कालीन लुयाटामा बुबा मानबहादुर सिंह र आमा तारादेवी सिंहका कोखबाट उनको जन्म भएको हो।

पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट उनले एसएलसी पूरा गरेका थिए।

उनले बीएल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पूरा गरेका थिए।

सिंहले कानूनकै विद्यार्थी भएकाले प्रदेशको हित हुने नीति निर्माणमा जोड दिने बताउँदै आएका थिए। २०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आबद्ध भएका थिए। उनी नेपालगञ्ज हुँदा २०३५ सालतिर महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए।

त्यसैबेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बनेका थिए। २०४९ सालमा उनी तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए।

२०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भएर हारेका थिए। त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरेका थिए।

पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै अहिले महासमिति सदस्य रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधिसभा सदस्य पदको चुनाव लडे पनि हारेका थिए।

२०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर