शहरी पूर्वाधारका लागि बजेट भएन : गोकुल बाँस्कोटा

प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको रकम घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौती प्रस्ताव पेस गरेका छन्।

शहरी पूर्वाधार निर्माणका लागि छुट्याइएको आगामी आर्थिक वर्षको बजेट पर्याप्त नरहेको र विगतका महत्त्वपूर्ण कार्यक्रममा समेत बजेट कटौती गरेको उल्लेख गर्दै प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो प्रस्ताव पेस गरेका हुन्।

शहरी क्षेत्रमा आवश्यक पूर्वाधार तयार पार्नका लागि सरकारले पर्याप्त बजेट छुट्याउन नसकेको सांसद बाँस्कोटाको भनाइ छ। त्यस्तै अघिल्लो सरकारले सुरू गरेका शहरी पूर्वाधारसँग सम्बन्धित धेरैवटा कार्यक्रमलाई चालु आर्थिक वर्षको बजेटले निरन्तरता दिन नसकेको उनले बताए।

‘बसाइँसराइ, सेवा प्राप्ति र रोजगारीका लागि सहरमा जनसङ्ख्या बढिरहेको छ। तर बजेटले सहरका न्यूनतम पूर्वाधार निर्माणलाई पनि बेवास्ता गरेको देखिन्छ,’ सांसद बाँस्कोटाले भने, ‘शहर हुनका लागि शुद्ध खानेपानी, ढलनिकास, सहज यातायात, फोहरमैला व्यवस्थापन, पार्किङ, व्यापार प्रदर्शनी केन्द्र, स्वास्थ्य र शिक्षा सेवालगायतका सुविधा चाहिने हो । त्यसका लागि यो बजेट पुग्ने देखिँदैन।’

सरकारले शहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६६ अर्ब १७ करोड ५५ लाख रूपैयाँ बजेट छुट्याइएको छ। जबकि चालु आर्थिक वर्षका लागि शहरी विकास मन्त्रालयले ३७ अर्ब ७३ करोड रूपैयाँ बराबर मात्रै बजेट पाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *