पश्चगमनलाई परास्त गर्दै मुलुकको राष्ट्रिय एकता संवर्द्धनका लागि समाजवादी माेर्चा : विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपालमा थुप्रै खालका सङ्कटहरू रहेको, नागरिकहरू निराशामा रहेको तथा अन्योलता र आकाङ्क्षाको बीचबाट मुक्त गर्ने लक्ष्यका साथ आफूहरू एक ठाउँमा उभिएको बताएका छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

पश्चगमनलाई परास्त गर्दै मुलुकको राष्ट्रिय एकताको संवर्द्धनका लागि आफूहरूले नेपालको इतिहासमा नयाँ प्रयोग गरेको र यसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने सङ्कल्प गरिएको उनले बताए। मुलुकको नेतृत्व अग्रगामी, परिवर्तनकारी शक्तिले गर्ने र त्यो सम्भव रहेको महासचिव चन्दको भनाइ छ।

मोर्चाले सहिद, बेपत्ता तथा सहिदहरुको सपना बोकेर आएको स्पष्ट गर्दै उनले आफ्नो देशलाई स्वाधीन र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने विश्वास दिलाए। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, हालसम्म प्राप्त भएको राजनीतिक उपलब्धिको संरक्षण गर्दै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि आफूहरु एकै ठाउँ उभिएको बताए।

आम नेपाली जनतालाई निराश नहुन आग्रह गर्दै उनले निराशाले समाप्त पार्ने र विसर्जन गर्ने भएकाले आशातीत भएर उभिनुपर्नेमा जोड दिए।

उनले भने, ‘अन्याय र अत्याचारका विरूद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् र हार्ने छैनन्।’

मोर्चाको अवधारणा बनाउनका लागि नेताहरू जनार्दन शर्मा, उपाध्यक्ष प्रवेश हमाल, खड्गबहादुर विश्वकर्मा र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर