समाजवादी माेर्चा कसैलाई घुर्क्याउन र तर्साउन बनाइएकाे हाेइन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आम निर्वाचन अगाडि नै समाजवादी मोर्चा घोषणा गर्ने उद्देश्य राखिएकोमा तत्कालीन अवस्थाका कारण सम्भव नभए पनि हाल आएर सफल भएको बताएका छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

मोर्चा स्वार्थ, सिद्धान्तहिन र विचारहीन मोर्चा नभएको उल्लेख गर्दै उनले पश्चगमन र प्रतिगमनका विरूद्ध साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताए। मोर्चा कोही कसैलाई फकाउन र कोही कसैलाई तर्साउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ छ।

‘कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौँ, दबाब दिन खोजेको होइन। तिर्नै तर्सिछन्, जो अग्रगमनको पक्षमा छैनन्। मोर्चामा केही नयाँपन छ,’ अध्यक्ष नेपालले भने, ‘२०४६ सालको जनआन्दोलनको बेलामा पनि वाम मोर्चा बनेको तथा २०६२/६३ मा पनि त्यस्तै परिवर्तनकारी मोर्चा बनेको थियो। विगतका यी माोर्चाको अनुभव सकारात्मक रहेको थियो।’

सरकारमा रहेका र नरहेका शक्ति एक ठाउँमा उभिनु नै मोर्चाको नयाँपन रहेको स्पष्ट पार्दै अध्यक्ष नेपालले अग्रगामी चिन्तन बोकेको र मोर्चामा आबद्ध दलका बीचमा एकापसमा विश्वास रहेको एवं समानता रहेको बताए।

उनले २०७४ मा नेपाली जनताले तत्कालीन नेकपालाई अत्यधिक मत दिएको भए पनि त्यसलाई रक्षा गर्न नसकिएको तथ्य पेस गर्दै विगतको अनुभवबाट शिक्षा लिएर अगाडि बढ्न चाहेको बताए। समाजमा अत्याचार, शोषण गर्नेलाई कुनै पनि छुट नदिन र दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष नेपालले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराए।

मुलुकको समग्र पक्षको अध्ययन तथा विश्लेषण गरेर नेपाली विशेषतासहितको समाजवाद निर्माण गरिने दृढता व्यक्त गरे। ‘हामी सक्छौँ, हामी गर्न सक्छौँ भन्ने विश्वासका साथ अगाडि बढ्छौँ,’ अध्यक्ष नेपालले भने, ‘कोही पनि निराश हुनु जरूरी छैन। आशावादी बनौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर