‘केल्मी’ ब्राण्डका नक्कली कपडा उत्पादन गर्ने दुई जना पक्राउ

‘केल्मी’ ब्राण्डका नक्कली कपडा उत्पादन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रतिलिपि अधिकार उल्लंघन गरी केल्मी ब्राण्डका नक्कली कपडा बनाएको आरोपमा दुई जना पक्राउ परेका हुन्।

काठमाडौं महानगरपालिका-२२ प्युखास्थित सुजन शिवम् रेडिमेड स्टोरबाट आइतबार दिउँसो २ बजे दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पर्वतको ठूलोपोखरी गाउँपालिका-३ घर भई काठमाडौं-२१, भोटेबहाल बस्ने ४४ वर्षीया सानुमाया र बाराको पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५, चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारी पक्राउ परेका हुन्।

सानुमाया स्टोर सञ्चालिका हुन् भने अन्सारीले कपडामा केल्मीको लोगो प्रिन्ट गर्ने गरेका थिए।

केल्मी ब्राण्डका कपडा अनधिकृत रूपमा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी वृत्त जनसेवाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

स्टोरबाट प्रहरीले केल्मी लेखिएका ८४ वटा ट्राउजर, ७४ वटा जम्पर, ५४० वटा हाफ र फुल टिसर्ट र १० वटा स्यान्डो बरामद गरेको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *